वीरगञ्ज, ९ असोज । मधेस प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित फाइल सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण मधेस प्रदेशलाई हस्तान्तरण गरेको छ। फाइल हस्तान्तरणसँगै सञ्चार संस्थाले दर्ता, नवीकरणलगायतका सामान्य प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ।
बिहीबार काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई सम्बन्धित फाइल हस्तान्तरण गरेका हुन्।
फाइल प्रदेशमा आएपछि अब मधेस प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका काम जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणको कार्यालयबाटै हुने प्राधिकरणले जनाएको छ।
अध्यक्ष खड्गाले फाइल हस्तान्तरणलाई मधेस प्रदेशको सञ्चार क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनका अनुसार प्रदेशमै सेवा उपलब्ध भएपछि सञ्चार संस्थाको समय र आर्थिक भार दुवै घट्नेछ।
नेपालको संविधान तथा मधेस प्रदेश सञ्चार ऐनले रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरणलगायतका काम प्रदेशबाटै गर्ने व्यवस्था गरेको भए पनि विगत सात वर्षदेखि सम्बन्धित फाइल केन्द्रमै रहेका थिए। यसका कारण प्रदेशमा रहेका सञ्चार संस्थाले सामान्य प्रशासनिक कामका लागि समेत काठमाडौं धाउनुपर्ने अवस्था थियो।
अध्यक्ष खड्गाका अनुसार आफूले जिम्मेवारी सम्हालेदेखि नै फाइल प्रदेशमा ल्याउन निरन्तर पहल गर्दै आएका थिए। फाइल हस्तान्तरणका लागि देखिएका कानुनी जटिलता समाधान गर्न मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र तत्कालीन गृहसचिव गणेश नायकको सहयोग महत्वपूर्ण रहेको उनले बताए।
फाइल प्रदेशमा आएपछि सञ्चार संस्थाले सहज रूपमा सेवा प्राप्त गर्ने र प्रदेश सरकारले समेत सञ्चार क्षेत्रबाट प्राप्त हुने राजस्व संकलन गर्ने आधार तयार भएको प्राधिकरणको भनाइ छ।
अध्यक्ष खड्गाले फाइल हस्तान्तरणलाई संविधानले प्रदेशलाई दिएको अधिकार कार्यान्वयनको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको बताए।