विश्व पर्यटन दिवस २०२६ को अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ, महोत्तरीले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने भएको छ।
‘पर्यटनको पुनर्संरचनाका लागि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता (एआई)’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा संघले नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ (हान) र नाट्टा मधेश प्रदेशसँगको सहकार्यमा असोज १० देखि १८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रमअन्तर्गत असोज १० देखि १७ गतेसम्म महोत्तरीका पर्यटकीय होटलमा बास बस्ने पाहुनालाई आवासमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुट उपलब्ध गराइने संघले जनाएको छ।
महोत्तरीमा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल प्रशस्त भए पनि अपेक्षित रूपमा पर्यटन विकास हुन नसकेको व्यवसायीहरूको भनाइ छ। टुटेश्वरनाथ, जलेश्वरनाथ, मटिहानी, प्राचीन ढुंगे हतियार कारखाना, रौजा मजार, पडौल थान र पञ्चधुरा माई लगायतका स्थललाई पर्यटन प्रवर्द्धनको प्रमुख आधारका रूपमा अघि सारिएको छ।
दिवसको अवसरमा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका दुई जना पत्रकारलाई ‘पर्यटन पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सिफारिसमा पत्रकारलाई सम्मान गरिने संघले जनाएको छ।
त्यसैगरी, जिल्लाको पर्यटनका सम्भावना र चुनौतीबारे बर्दीबास र जलेश्वरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, सरोकारवाला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।
पर्यटकीय स्थलको प्रचारप्रसार, पर्यटक स्वागत, भिडियो सामग्रीमार्फत निमन्त्रणा सन्देश प्रवाह तथा पर्यटक र अतिथिबाट सत्कारसम्बन्धी प्रतिक्रिया संकलन गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
यसैगरी, जलेश्वर र बर्दीबासका मुख्य चोक तथा बजार क्षेत्रको सरसफाइ गरिने संघले जनाएको छ।महोत्तरीको पर्यटन क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्र, स्थानीय सरकार, सञ्चारकर्मी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको संघका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताए।
संघले विश्व पर्यटन दिवसका अवसरमा आयोजना हुने कार्यक्रम तथा महोत्तरीको पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्रीको व्यापक प्रचारप्रसार गरिदिन सञ्चारकर्मीहरूसँग आग्रह गरेको छ।