१० असोज,वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा समुदाय तथा सामाजिक सेवा परियोजनाका लागि सहयोग जुटाउने उद्देश्यले वीरगञ्जस्थित होटल सिद्धार्थ डियालोमा ‘रोटरी ट्रेड फेयर’ सुरु भएको छ।
ट्रेड फेयरको उद्घाटन उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतमले गरेका हुन्। उद्घाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
ट्रेड फेयरमा खाद्य परिकार, खेलकुद सामग्री, कृत्रिम आभूषण, कपडालगायत विभिन्न सामग्रीका स्टल राखिएका छन्। मेलामा सर्वसाधारणले सामग्री तथा सेवाको अवलोकन र खरिदसँगै मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी हुन सक्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार ट्रेड फेयरबाट प्राप्त आम्दानी रोटरी क्लब अफ वीरगञ्जले सञ्चालन गर्ने विभिन्न सामुदायिक तथा सामाजिक सेवा परियोजनामा परिचालन गरिनेछ। सामाजिक क्षेत्रमा क्लबले गर्दै आएका गतिविधिलाई थप प्रभावकारी बनाउन मेलाबाट संकलित रकम उपयोग गरिने जनाइएको छ।
ट्रेड फेयर बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ। मेलामा साँझ ५ बजेदेखि कुल श्रेष्ठ कमलको विशेष सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज, रोट्रयाक्ट क्लब अफ शंकराचार्य, इन्टरयाक्ट क्लब अफ ज्ञानदा एकेडेमी तथा इन्टरयाक्ट क्लब अफ कादम्बरी एकेडेमीको समेत सक्रिय सहभागिता रहेको छ।
आयोजकले ट्रेड फेयरमा सर्वसाधारणको सहभागिता बढाउँदै सामाजिक सेवा अभियानमा सहयोग पुर्याउन आग्रह गरेको छ।