१२ असोज, काठमाडौँ । गत बुधबारदेखिको अविरल वर्षा थामिएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोले अवरुद्ध भएका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरू खुलाउने कार्य तीव्र पारिएको छ ।
संघीय राजधानी काठमाडौँको ’लाइफलाइन’ मानिने पृथ्वी राजमार्ग लगायतका मुख्य सडक खण्डहरू सफा गरेर आज दिउँसोसम्म सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्यका साथ भारी उपकरण र सुरक्षा निकाय परिचालन गरिएको छ ।
आइतबारदेखि वर्षाको प्रभाव कम भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पन्छाएर पोखरातर्फ जाने यातायात सुचारु भइसकेको छ । यस्तै मुग्लिन–काठमाडौँ सडक खण्डका अधिकांश स्थानमा पहिरो हटाइसकिएको छ भने केही ठाउँमा एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेका छन् ।
आइतबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित पानीधारामा ठूलो ढुङ्गासहित पुनः पहिरो खसेपछि काठमाडौँ जोड्ने मुख्य सडक दुवैतर्फ अवरुद्ध बनेको थियो। रातिको समयमा पहिरो पन्छाउन जोखिमपूर्ण रहेकाले आज बिहानैदेखि पुनस् डोजर तथा लोडर प्रयोग गरी पहिरो हटाउन सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार पानीधाराको पहिरो पूर्ण रूपमा सफा गरेपछि काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग सुचारु हुनेछ। यद्यपि, सडक खुले तापनि अझै जोखिमपूर्ण रहेको कृष्णभिर क्षेत्रको वस्तुस्थिति निरीक्षण गरेर मात्रै पूर्ण रूपमा सवारी साधन सञ्चालन गर्न दिने निर्णय लिइने प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गतको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका छन् ।
सम्बन्धित जिल्ला प्रहरी कार्यालय र सडक डिभिजनका अधिकारीहरूका अनुसार ती सडकहरूमा खसेको पहिरो हटाउने कार्यसँगै क्षति पुगेका ठाउँहरूमा वैकल्पिक डाइभर्सन निर्माण गरी यथाशीघ्र सवारी आवतजावत गराउने प्रयास निरन्तर जारी छ ।