वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई स्थानमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा मापदण्ड तथा सरसफाइसम्बन्धी कमजोरी देखिएपछि दुई उद्योगलाई जरिवाना गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले वीरगञ्जस्थित महावीर एग्रो प्रोडक्ट प्राइभेट लिमिटेडमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा आवश्यक कागजात तथा व्यवस्थापनसम्बन्धी विषयमा कमजोरी देखिएपछि उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, उद्योगलाई तीन दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। यस विषयमा सम्बन्धित निकायसँग सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा जवाफ दिन अस्वीकार गरेका छन ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित स्विट मार्ट फुड प्रालि मा गरिएको अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ तथा फोहोर व्यवस्थापन सन्तोषजनक नभएको पाइएको थियो। अनुगमन टोलीले उत्पादन स्थलमा आवश्यक सरसफाइ कायम गर्न निर्देशन दिँदै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
स्विट मार्ट फुड प्रालिलाई उत्पादन स्थल तथा आसपासको क्षेत्रको सरसफाइ सुधार गरी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत निर्देशन दिइएको छ।
उपभोक्ताको स्वास्थ्य र खाद्यवस्तुको गुणस्तरलाई ध्यानमा राख्दै बजार तथा उद्योगहरूको नियमित अनुगमनलाई निरन्तरता दिइने अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा देखिएका कमी–कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायी तथा उद्योग सञ्चालकलाई आवश्यक निर्देशनसमेत दिइएको छ।सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की, रामप्रसाद लम्साल, आनुतोष कुशवाहा, श्रवणकुमार साह, उपभोक्ता हित संरक्षण मञ्चका प्रकाशकुमार शाह, सञ्चारकर्मी अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।