वीरगञ्जस्थित सुर्या हस्पिटल प्रा.लि.मा उपचारका क्रममा चिकित्सकीय लापरबाही भएको आरोप लगाउँदै आफन्तहरूले प्रदर्शन गरेका छन्। रौतहटको यमुनामाई गाउँपालिका–४ की एक सुत्केरी महिलाको उपचारका क्रममा गलत औषधि प्रयोग गरिएका कारण दुवै मिर्गौला खराब भएको आरोप आफन्तले लगाएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको हो।
सुत्केरी गराउनका लागि सुर्या अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा चिकित्सक तथा अस्पताल पक्षबाट गम्भीर लापरबाही भएको पीडित परिवारको आरोप छ। उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको दुवै मिर्गौलामा समस्या देखिएको परिवारको दाबी छ।
पीडितका श्रीमान् विश्वनाथ सिंहले चिकित्सकले गलत औषधि प्रयोग गरेका कारण आफ्नी पत्नीको स्वास्थ्यमा गम्भीर असर परेको आरोप लगाएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय तथा उपचारको उचित व्यवस्था गर्नुपर्ने उनको माग छ।
घटनापछि पीडितका आफन्त तथा स्थानीयले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा आफन्त नवीन सिंहसहितका व्यक्तिहरूले सडकमा टायर बालेर नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘मोनिका यादवलाई फाँसी दे’, ‘हत्यारा डाक्टर मुर्दावाद’ लगायतका नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रर्दशनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरी अवस्था सामान्य बनाउने प्रयास गरिरहेको छ।
पीडित परिवारले उपचारमा भएको भनिएको लापरबाहीबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कारबाही गर्न माग गरेको छ।
यसैबीच, घटनाबारे सुर्या हस्पिटल प्रशासनको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। अस्पताल पक्षको प्रतिक्रिया तथा चिकित्सकीय विवरण प्राप्त भएपछि घटनाको वास्तविक अवस्था थप स्पष्ट हुने देखिएको छ।