विराटनगर,१३असोज : तास खेल्दै गरेको अवस्थामा पक्राउ पछि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगरका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालालाई मंगलबार बिहान हिरासतभित्र अचेत अवस्थामा भेटिएपछि उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।
कोशीमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलमा उपचारकै क्रममा मंगलबार बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइराला मंगलबार बिहान करिब ७:३० बजे हिरासतभित्रै अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि तत्काल उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको मिश्रले बताए ।
प्रहरीका अनुसार विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेका बेला कोइरालासहित ८ जना पक्राउ परेका थिए । प्रहरीको गस्ती टोलीलाई देखेपछि तास खेलिरहेका व्यक्तिहरू घरबाट भागेका थिए । रातको समयमा मानिसहरू होहल्ला गर्दै भागिरहेको देखेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले तास खेलिरहेको अवस्थामा राति करिब ११:३० बजेतिर आठजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको थियो । हिरासतमा कोइरालासँगै रहेका साथीहरूले मंगलबार बिहान चिया खान उठाउने क्रममा उनी नबोलेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोइरालाको यसअघि दुर्घटनामा परी टाउकाको शल्यक्रिया गरिएको थियो। उनी यसअघि पनि तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाइ छ । यद्यपि,हिरासतमा अचेत अवस्थामा भेटिएर मृत्यु भएको घटनाको यकिन कारण भने खुलिसकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।
सोही घटनामा प्रहरीबाट उम्किने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया भने घरको दुई तला माथिबाट हामफाल्दा घाइते भएका छन् । जमिनमा खसेका उनको दाहिने खुट्टा भाँचिएको छ । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ ।
प्रहरीले पक्राउ गरेका अन्य व्यक्तिहरुमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी,विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी,सोही ठाउँका ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत,५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट तासका साथै ४८ हजार ३ सय ९५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । कोइरालाको मृत्यु र पक्राउ परेका अन्य व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।