बारा– बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गर्दै शान्ति सुरक्षालाई चुस्त र प्रभावकारी बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। भदौ २४ गते सरुवा भई आएका सीडीओ अधिकारीले निरीक्षणपछि सम्बोधनका क्रममा प्रहरी सेवालाई थप पारदर्शी, व्यावसायिक र निष्पक्ष बनाउन निर्देशन दिएका हुन्।
सीडीओ अधिकारीले नागरिकको सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्न अनुरोध गरेका छन्। लोभलालच, दबाब र पूर्वाग्रह बिना कानूनको निष्पक्ष परिपालना गराउन आग्रह गर्दै सीडीओ अधिकारीले गलत आचरण देखाउने र अनुशासनहीन काम गर्ने प्रहरी कर्मचारीलाई कारबाही गरिने चेतावनी समेत दिएका छन्।
‘आम नागरिकसँग सभ्य, शिष्ट र नम्र व्यवहार गर्ने तर कानून परिपालनामा कडा हुनुपर्दछ’ प्रहरीलाई निर्देशन दिँदै सीडीओ अधिकारीले भने ‘गलत आचरण देखाएको प्रमाणित भए त्यस्ता प्रहरी कर्मचारीलाई तुरुन्त कारवाही गरिनेछ।’ महिला, बालबालिका र वृद्धवृद्धामाथि हुने हिंसाका घटनामा कुनै पनि मोलमोलाइ नगरी दोषीलाई कानूनको दायरामा ल्याउन, नागरिक स्वास्थ्यजन्य अपराध न्यूनीकरण, सामाजिक अपराध, घरेलु हिंसा, लैङ्गिक हिंसा, बालविवाह, बहुविवाह, आत्महत्या, अन्धविश्वासजस्ता सामाजिक विकृतिविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सीडीओ अधिकारीले आग्रह गरेका छन्।
फरार अपराधीको खोजतलास, हातहतियारको सुरक्षा, विपद् व्यवस्थापनको पूर्वतयारी, चाडपर्व लक्षित ‘हाम्रो सुरक्षा योजना २०८३’ लाई पूर्णरूपमा कार्यान्वयन गर्न जिल्लाका सबै प्रहरी कर्मचारीलाई उनको निर्देशन थियो। वनजंगल, काठ, जडीबुटी तथा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा तस्करी रोक्न, सीमा क्षेत्रमा हुने अपराध र चोरी, निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरी बललगायतका निकायहरूसँग समन्वय गरेर काम गर्न उनले आग्रह गरेका छन्।
यसका साथै सवारी साधनको ओभरलोड, तीव्र गति र यात्रु ठगी नियन्त्रणका लागि अभियान संचालन गर्न, आफ्नो कार्यक्षेत्र भित्र हुनसक्ने सक्ने अवैध मदिराको उत्पादन, बेचबिखन तथा प्रयोग, लागूऔषधको तस्करी र प्रयोग, जुवातासलगायतका गैरकानूनी कार्यहरुलाइ नियन्त्रण गर्नका निम्ति पूर्णरुपमा क्रियाशील हुन निर्देशन उनले दिएका छन्। आफ्नो इलाका क्षेत्रमा रहेका जनप्रतिनिधि, सरकारी कार्यालय, संघसंस्था, औद्योगिक प्रतिष्ठान, वित्तिय संस्थाहरुसँग नियमित सम्पर्कमा रही शान्ति सुरक्षा एवं अपराध नियन्त्रण र सामाजिक कार्यका लागि सक्रिय रहन सीडीओ अधिकारीले निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जिल्लाको समग्र सुरक्षा अवस्थाको विषयमा सीडीओ अधिकारीलाई जानकारी गराएका थिए। निरीक्षणमा बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घले, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टलगायत प्रहरी अधिकारी, कर्मचारीको उपस्थिति रहेको थियो।