प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले बलियो जनमत पाए पनि कमजोर शासन सञ्चालन गरिरहेको टिप्पणी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले ‘बलियो जनादेश’ पाए पनि कमजोर शासन सञ्चालन गरिरहेको बताएका हुन् ।
बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले सरकार बनेको ६ महिनाको अवधिमा नागरिकको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजाने कार्यमा शासकीय कौशलताको सर्वथा अभाव देखिएको बताए । उनले बहुमत आफैँमा शासन गर्ने क्षमता नभएको उल्लेख गर्दै सरकारले जनविश्वास आर्जन गर्न नसकेको र झिना–मसिना मुद्दामा अल्झिरहेको टिप्पणी गरे ।
नेता आङदेम्बेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदा र फर्कँदा प्रधानमन्त्रीले संसद्लाई जानकारी नदिएर संसदीय परम्परा र मर्यादाको उल्लङ्घन गरेको आरोप लगाए । उनले संसदमा प्रमुख प्रतिपक्ष दलका नेता बोलिरहँदा प्रधानमन्त्रीको अनुपस्थिति हुनु र प्रधानमन्त्रीले संसद्लाई आफ्नो अनुकूलतामा चल्ने संस्थाका रूपमा व्यवहार गर्नु दुःखद भएको बताए ।
त्यस्तै, पछिल्लो समय नयाँ पुस्ताको नाममा उदाएका लोकप्रियतावादी नेतृत्वबाट लोकतन्त्रका आधारभूत स्तम्भहरूमाथि प्रहार भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
पूर्व प्रधानन्यायाधीशलाई मध्यरातमा पक्राउ गरी अकारण छोडिएको घटनालाई उनले कानुनी राज्यको उपहासको उत्कर्ष भन्दै राज्यले यस्तो गैरजिम्मेवारपूर्ण कार्य गर्न नहुने बताए ।
नेता आङदेम्बेले निजी क्षेत्रलाई साझेदारका रूपमा व्यवहार गर्न छाडेर सरकारले अपराधीजस्तो व्यवहार गरेको र कर्मचारीतन्त्रमा समेत राजनीतिक हस्तक्षेप बढाएको आरोप लगाए । मुलुकको अर्थतन्त्रको अवस्था दयनीय रहेको र महँगीले जनताको भान्सा आक्रान्त हुँदा पनि सरकार संवेदनशील नभएको उनको भनाइ थियो । विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको र बाढी–पहिरो पीडित नागरिकहरू अझै पनि बिचल्लीमा पर्दा राज्य उपस्थित हुन नसकेको उनले बताए ।
प्रतिपक्षको काम सरकारको विरोध गर्ने मात्र नभई सरकारलाई सही मार्गमा ल्याउन खबरदारी गर्ने पनि भएको बताउँदै उनले सरकारले आफ्नो कार्यशैलीमा तत्काल सुधार नगरे मुलुक थप संकटतर्फ धकेलिने चेतावनी दिए । अन्त्यमा, उनले सरकारलाई लोकप्रियतावाद र हुकुमी शैली त्यागी सुशासन, सामाजिक न्याय र विकासलाई प्राथमिकतामा राखेर कार्य गर्न सुझाव दिए ।