वीरगञ्ज । करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको निरन्तर खोजी तथा समन्वयपछि पारिवारिक पुनर्मिलन भएको छ।
इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार गरी २०८३ साल असोज ७ गते बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याएकी ती महिलाको परिवार पहिचान भएपछि उनलाई भाइ सोहन रायको जिम्मा लगाइएको हो।
आश्रमका अनुसार ती महिला भारतको मोतिहारी जिल्ला, राजेपुर थाना, मोहम्मदपुर सागर गाउँकी हुन्। उनी करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी थिइन्।
महिलाको परिवार खोजीका लागि मानवसेवा आश्रम वीरगञ्जले निरन्तर पहल गर्दै विभिन्न माध्यमबाट समन्वय गरेको थियो। खोजीका क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि उनलाई भाइ सोहन रायको जिम्मा लगाउँदै पारिवारिक पुनर्मिलन गराइएको आश्रमले जनाएको छ।
मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले परिवारसँग पुनः भेट गराउन सक्नु आश्रमको सेवा र उद्देश्यको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
उद्धार कार्यमा सहयोग गर्ने इलाका प्रहरी कार्यालय प्रसौनी, बारा, मानवसेवा आश्रम वीरगञ्ज तथा परिवार खोजीका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ता विनय कुमारलगायत सम्पूर्ण सहयोगीप्रति आश्रमले आभार व्यक्त गरेको छ।
मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिहरूको उद्धार, संरक्षण तथा आवश्यक उपचारसँगै परिवार पहिचान गरी पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।
एक वर्षदेखि परिवारबाट टाढा रहेकी महिलालाई पुनः आफन्तसँग जोड्न सफल भएको घटनालाई आश्रमले मानवसेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।