राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्टग्राजुएट ९पीजी० विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अन्सारीले पीजी विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न लगाउनुका साथै आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे।
विद्यार्थीहरूले मेडिकल कलेजमा भइरहेको भनिएको अनियमितताविरुद्ध आवाज उठाएपछि कलेज प्रशासनले उनीहरूलाई रोक्ने प्रयास गरेको अन्सारीको आरोप छ।
उनले नेशनल मेडिकल कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् काममा नरहेका प्राध्यापक देखाएर पीजी सिट लिइएको आरोप लगाए। साथै, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले सुरक्षागार्डलाई नक्कली बिरामी बनाएर इमर्जेन्सीमा राखेको दाबीसमेत गरे।
‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर ९कामै नगर्ने प्रोफेसरहरू० देखाएर पीजी सिट लिइएको छ,’ अन्सारीले भने, ‘चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदा इमर्जेन्सी हलमा त्यहीँका सुरक्षागार्डहरूलाई बिरामी बनाएर पानी चढाउनसमेत कलेज व्यवस्थापनले फोर्स गरेको छ।’
यस्ता गतिविधिबारे सरकारको ध्यानाकर्षण गराउँदै अन्सारीले नक्कली बिरामी, नक्कली शिक्षक र नक्कली निरीक्षणका नाममा हुने गतिविधिले विद्यार्थीको भविष्य प्रभावित हुन नहुने बताए।
उनले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गर्दै सम्बन्धित मेडिकल कलेजमाथि कारबाही हुन नसक्नुमा राज्यका विभिन्न निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत लगाए।
अन्सारीले आफ्नो भनाइ कुनै एउटा संस्थाविरुद्धको आरोप नभई चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्नुपर्ने विषय भएको स्पष्ट पारे।
उनका अनुसार आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा काठमाडौंमा छन्। विद्यार्थीका माग सम्बोधन गरी तत्काल समस्या समाधान गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।