वीरगञ्ज । वैदिक सनातन हिन्दू परम्परा अनुसार तराई-मधेशका मधेशी तथा थारु महिलाहरूले आफ्नो सन्तानको सुख, समृद्धि, आनन्द र दीर्घायुका लागि मनाउने महान् लोकपर्व ‘जितिया’ (जीवित पुत्रिका) देशभर उत्साहका साथ मनाइँदै छ ।
आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म तीन दिनसम्म धार्मिक विधिपूर्वक मनाइने यो पर्व नितान्त मातृस्नेह, आमाको त्याग र वात्सल्यको अद्भूत उदाहरणका रूपमा रहेको छ । आमाहरूले आफ्ना जीवित सन्तानको रक्षाका लागि जल र अन्नसमेत ग्रहण नगरी २४ घण्टाभन्दा बढी समयसम्म ‘जीतमहान गोँसाई’ |(जिमुतवाहन) को कठोर ‘निर्जला’ व्रत बस्ने परम्परा छ । आज दोश्रो दिनको विधि गरिदैछ । हिजो नाहायखाय विधि सम्पन्न भएको छ ।
पौराणिक कथा :
जितिया पर्वसँग जोडिएको पौराणिक लोककथा अनुसार, एकादेशमा नर्मदा नदी किनारको कञ्चनवती गाउँ नजिकै बलुहटा मरुभूमिमा एउटा पाखरको रुख थियो। उक्त रुखमा एउटी पोथी चील र रुखमुनि पोथी स्याल बस्थे। दुवै साथी भएर एकदिन मानिसहरू जस्तै भगवान् जीतमहान गोँसाईको निर्जल व्रत बसे ।
तर, व्रत भएकै दिन मरुभूमिमा ल्याइएको शव देखेर स्यालले आफ्नो भोक रोक्न नसकी मासु खाइन् र व्रत भङ्ग गरिन्, जबकि चीलले निष्ठापूर्वक व्रत पूरा गरिन् ।
अर्को जन्ममा दुवै जना ब्राह्मण परिवारमा दिदी-बहिनीका रूपमा जन्मिए। चील ‘शिलवती’ बनेर बुद्धिसेनसँग विवाह गरिन् भने स्याल ‘कपुरवती’ बनेर राजा मलायकेतुकी रानी बनिन्। निष्ठापूर्वक व्रत बसेकी शिलवतीका सात जना सुन्दर र योग्य पुत्रहरू भए, तर व्रत तोडेकी कपुरवतीका छोराहरूको मृत्यु भयो ।
ऋष्याहा कपुरवतीले दिदीका सातै पुत्रहरूको हत्या गराई तिनको टाउको रातो कपडामा बेरेर उपहारका रूपमा दिदीकहाँ पठाउने षड्यन्त्र गरिन्। तर, भगवान् जीतमहान गोँसाईले कृपा गरी ती सातै जना पुत्रहरूलाई अमृत दिएर पुनर्जीवन दिनुभयो र टाउकाको साटो माटोको घैँटो र फलफूल बनाइदिनुभयो। पछि कपुरवतीलाई पूर्वजन्मको गल्तीको बोध भएपछि उनको मृत्यु भयो। सोही समयदेखि आमाहरूले सन्तानको रक्षाका लागि जितिया व्रत बस्ने परम्परा थालेको जनविश्वास छ ।
तीन दिने धार्मिक अनुष्ठान: नहाई-खाईदेखि पारणसम्म
जितिया पर्वको पहिलो दिन ‘नहाई-खाई’ बाट सुरु हुन्छ। यस दिन महिलाहरूले बिहानै नदी वा तलाउमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाएर चोखो भोजन ग्रहण गर्छन् ।
दोस्रो दिन अष्टमी तिथिमा मुख्य ‘निर्जला व्रत’ (खर दिन) बसिन्छ। तेस्रो दिन नवमीमा पूजाआजा समापन गरी ‘पारण’ (व्रत खोल्ने) गरिन्छ। तिथि घटबढ भएका बेला आमाहरूले दुई वा तीन दिनसम्म पनि कठोर निर्जला व्रत बस्नुपर्ने हुन्छ ।
विशेष गरी मिथिलाञ्चलमा जितियाका अवसरमा ‘झोर भात’ (तर्कारीको रस र भात), ‘नोनीको साग’ र ‘मडुवा’ (कोदो) को रोटी विशेष परिकारका रूपमा खाने र चढाउने चलन छ ।
त्यस्तै, थारु समुदायमा जितियालाई विजय र जितको उत्सवका रूपमा नवलपरासी, चितवनलगायत क्षेत्रमा भव्य रूपमा मनाइन्छ। थारु महिलाहरूले पिपलको हाँगा काटेर र धानका बिरुवा उखेलेर गाईको गोबरले लिपेको ‘थाट’ मा राखी भगवान् विष्णु, शिव र सूर्यको पूजा गर्छन् ।
प्रकृतिको आराधनासँगै थारु समुदायले जितियामा ‘झ्याम्टा’ नाच नाच्ने गर्छन्। ब्रह्मथानमा गाइने ‘जतसरी’ र पिपलको हाँगा काट्दा गाइने ‘दारकाटोनी’ जस्ता परम्परागत लोकगीतहरूका साथ खुला आकाशमुनि सामूहिक नृत्य र उत्सव आयोजना गरिन्छ ।
बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजमा जितिया पर्वले विभिन्न समुदाय र संस्कृतिलाई एउटै थलोमा जोड्दै आपसी सहकार्य, सांस्कृतिक एकता र मातृवात्सल्यको सन्देश प्रवाह गर्दै आएको छ ।