वीरगंज,१७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसमा भएका राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि र त्यसको कार्यान्वयनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष घिसिङले मधेसले अधिकार प्राप्तिका लागि लामो संघर्ष गरे पनि त्यसबाट आम नागरिकको जीवनमा अपेक्षाअनुसार परिवर्तन आएको छ कि छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका हुन्।
उनले विगतका निर्वाचनबाट प्राप्त उपलब्धि, राजनीतिक नेतृत्वको भूमिका र आगामी दिनमा मधेसको विकासका लागि चाल्नुपर्ने कदमबारे गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।
मधेसबाट राष्ट्रपति भइसकेको र अहिले प्रधानमन्त्रीसमेत मधेसकै व्यक्ति रहेको उल्लेख गर्दै घिसिङले राजनीतिक प्रतिनिधित्व बढ्दै जाँदा पनि मधेसी जनताको जीवनस्तरमा आधारभूत परिवर्तन आएको छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए। मधेसको हितमा अपेक्षाअनुसार काम हुन नसक्दा जनतामा असन्तुष्टि बढिरहेको उनको भनाइ थियो।
घिसिङले देशलाई आर्थिक सुशासनको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिँदै मधेस प्रदेशलाई मुलुकको आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने बताए। कृषि उत्पादनका लागि उर्वर भूमि रहेको मधेसमा सिँचाइको अभाव प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यसको समाधानमा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा मधेसमा विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिएको दाबी गर्दै उनले विद्युत् सुविधालाई कृषिसँग जोड्नुपर्ने बताए। मधेसका खेतखेतसम्म विद्युत् सुविधा पुर्याएर कृषिमा प्रयोग हुने विद्युत् निःशुल्क गर्न सके कृषि उत्पादन बढाउन र आर्थिक रूपान्तरणमा योगदान पुग्ने उनको भनाइ थियो।
उनले मधेसको कृषि, ऊर्जा र औद्योगिक सम्भावनालाई उपयोग गर्न सके प्रदेशलाई देशकै आर्थिक हबका रूपमा विकास गर्न सकिने बताए।
यसैगरी, घिसिङले वर्तमान सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेको टिप्पणी गर्दै जनताका अपेक्षा सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।