काठमाडौं,२० असोज । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट हुने खुद्रा बिक्री तत्काल रोक्न माग गरेको छ ।
महासंघले नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगबाट नभई डिलरमार्फत मात्र ग्यास बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहनु ग्यास अभावको प्रमुख कारण रहेको दाबी गरेका छन् । उनका अनुसार बजारमा सिलिन्डरको संख्या बढ्दै जाँदा ग्यासको नियमित आपूर्ति र वितरण प्रणालीमा समस्या देखिएको छ ।
महासंघले विभिन्न ग्यास उद्योगले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै आपत्ति जनाएको छ । बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नेभन्दा नयाँ सिलिन्डर थप्दै जाने प्रवृत्तिले समस्या झन् बढाउने महासंघको भनाइ छ ।
महासंघले ५, १९, ५० र ४५० किलो क्षमताका नयाँ सिलिन्डर बिक्री गर्ने योजनाप्रति पनि असहमति जनाएको छ । बजारको आवश्यकता र विद्यमान वितरण प्रणालीको अध्ययन नगरी सिलिन्डरको संख्या बढाउने योजना उपभोक्ताका लागि थप समस्या बन्न सक्ने महासंघले जनाएको छ ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगबाट भइरहेको खुद्रा बिक्री बन्द गरी डिलरमार्फत मात्रै बिक्री गर्ने व्यवस्था गर्न महासंघले निगमसँग आग्रह गरेको छ ।
त्यसैगरी, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग छलफल गरेर सहज आपूर्तिको व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ । हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४।२ किलोको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्नसमेत महासंघले निगमको ध्यानाकर्षण गराएको छ ।