नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण, सौहार्दपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका समयमा मानिसको आवतजावत बढ्ने, बजार तथा व्यापारिक क्षेत्रमा भीडभाड हुने, सार्वजनिक यातायातमा चाप बढ्ने तथा धार्मिक, सांस्कृतिक गतिविधि र आर्थिक कारोबारसमेत बढ्ने भएकाले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ।
विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरी विशेष निगरानी, नियमित गस्ती तथा चेकजाँचको व्यवस्था मिलाइएको छ। बजार, सार्वजनिक स्थल, यातायात क्षेत्र तथा धार्मिक एवं सांस्कृतिक गतिविधि हुने स्थानमा प्रहरीले सुरक्षा निगरानी बढाउने जनाएको छ।
चाडपर्वको समयमा आपराधिक घटना, शान्ति सुरक्षामा खलल, मादक तथा मनोद्दीपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने तथा खेलाउने, आतसवाजी गर्ने र ठगीलगायतका गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वका समयमा कुनै पनि आपराधिक गतिविधि वा शान्ति सुरक्षामा असर पार्ने गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई अपिल गरेको छ।
प्रहरीले सुरक्षित समाज निर्माणमा प्रहरीसँगै नागरिकको समेत महत्वपूर्ण भूमिका रहने भन्दै चाडपर्वलाई सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरेको छ।
साथै, सम्भावित आपराधिक गतिविधि तथा त्यसमा संलग्न व्यक्तिबारे समयमै प्रहरीलाई सूचना दिएर साझा जिम्मेवारी र नागरिक दायित्व निर्वाह गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ।