काठमाडौं । पशुपतिनाथ मन्दिरमा मुस्लिम जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कोषको कार्यसम्पादन समितिको असोज २० गते बसेको आकस्मिक बैठकले घटनाबारे विभिन्न पाँचवटा निर्णय गरेको हो ।
असोज १९ गते एक युवा जोडीले आफू मुस्लिम भएको जनाउँदै पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो सामाजिक सञ्जालको टिकटकमार्फत सार्वजनिक भएको थियो । हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेशको अनुमति रहेको जानकारी हुँदाहुँदै उनीहरू मन्दिर प्रवेश गरेको विषयमा कोषले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग पत्राचार गर्ने निर्णय कोषले गरेको छ।
त्यस्तै, घटनामा सुरक्षा व्यवस्थापनमा कमजोरी भएको हो वा होइन भन्नेबारे छानबिन गर्न छुट्टै समिति गठन गरिएको छ। कोषका परिषद् सदस्य रामशोभित नायकको संयोजकत्वमा समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाएर सुरक्षासहितको प्रतिवेदन पेस गर्न समय दिइएको छ।
कोषले पशुपति क्षेत्रको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ।
सुरक्षाकर्मीमाथि कारबाहीको तयारी
घटनाका क्रममा पशुपति मन्दिर परिसरमा खटिएका कोषका कर्मचारी तथा सुरक्षाकर्मी र नेपाल सरकारबाट विभिन्न निकायमार्फत खटिएका सुरक्षाकर्मीबाट कमजोरी भएको पाइएमा कारबाही गर्ने निर्णय पनि भएको छ। कोषले घटनाबाट भएको कमजोरीप्रति क्षमायाचना गर्ने निर्णयसमेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा श्री पशुपतिनाथ मन्दिर परिसरमा खटिएका कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारबाट खटिएका विभिन्न निकायका सुरक्षाकर्मीबाट हुन गएको कमजोरीप्रति कोषको तर्फबाट क्षमायाचना गर्ने निर्णय गरिएको छ।’
पशुपति क्षेत्र विकास कोषले घटनाप्रति चिन्ता, चासो तथा प्रतिक्रिया व्यक्त गर्ने संघ–संस्था र महानुभावहरूलाई धन्यवाद दिँदै उनीहरूले व्यक्त गरेको चिन्ता र चासोलाई सम्बोधन गर्न कोष प्रतिबद्ध रहेको जनाएको छ ।
कोषले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्दै दर्शनार्थी, भक्तजन, तीर्थयात्री, पर्यटक तथा आमनागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारेको छ।
विज्ञप्तिमा आधिकारिक सूचना र तथ्यमा विश्वास गर्न तथा धार्मिक आस्था, आपसी सहिष्णुता र सद्भाव कायम राख्न सरोकारवाला तथा आमनागरिकलाई आग्रह गरिएको छ।