२१ असोज, वीरगञ्ज । आगामी दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशका आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि, तस्करी र दुर्घटना नियन्त्रणका लागि असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म ७ हजार २ सय २९ जना प्रहरी जनशक्ति मैदानमा उतारिने भएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सबैभन्दा बढी धनुषामा १ हजार ५ सय ९९ प्रहरी परिचालन गरिनेछ ।
यसैगरी बारामा ८ सय ७०, रौतहटमा ८ सय ६३, सप्तरीमा ८ सय ५७, सर्लाहीमा ७ सय ९२, महोत्तरीमा ७ सय ४७, पर्सामा ६ सय ६१ र सिरहामा ६ सय ५१ जना प्रहरी खटाइने योजना छ ।
सुरक्षा व्यवस्थापनका लागि कुल १ हजार १२४ विभिन्न ड्युटी टोलीमार्फत ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन्। जसअन्तर्गत ९२ Quick Response Team (QRT), १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ पोइन्ट, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती समावेश छन् । साथै, शङ्कास्पद स्थानमा पिकेटका लागि ३३९, राजमार्गमा स्कर्टिङका लागि २९ र यात्रु सहायताका लागि ६४ ड्युटी तोकिएको छ ।
खुला सीमा नाकाका कारण दसैँ-तिहारमा तस्करी र अवैध ओसारपसारको जोखिम बढ्ने भएकाले सीमा सुरक्षामा ७३ टोली र २८ वटा हेल्प डेस्क स्थापना गरिनेछ। यसबाहेक धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१, कर्डन तथा सर्चका लागि १८ र विपद् प्रतिकार्यका लागि २२ टोली तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ ।
चाडपर्वमा हुन सक्ने जुवा-तास, पटका तथा आतिसबाजी, मादक पदार्थ सेवन गरी हुने झैझगडा, चोरी-डकैती, बैंक तथा वित्तीय संस्था लक्षित अपराध, कालोबजारी र सामाजिक सञ्जालमार्फत फैलिने अफवाहतर्फ विशेष निगरानी राखिनेछ ।
छठ पर्वका अवसरमा नदी तथा तलाउका घाटहरूमा हुन सक्ने भीडभाड र डुब्ने जोखिम नियन्त्रणका लागि समेत विशेष प्रहरी टोली परिचालन गरिने एसएसपी ढकालले जानकारी दिए । बाँकी जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती र सादा पोसाकमा सूचना सङ्कलनमा खटाइनेछ