काठमाडौं,२१ असाेज । दसैं तथा अन्य चाडपर्वमा नयाँ नोट लिन बैंकमा लामो लाइन बस्नुपर्ने झन्झट कम हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण सुरु गरेका छन्। यसबाट सर्वसाधारणले आवश्यकताअनुसार एटीएमबाटै नोट लिन सक्नेछन्।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यस वर्ष विगतमा जस्तो चाडपर्व लक्षित गरेर नयाँ नोट वितरणबारे व्यापक प्रचारप्रसार गरिएको छैन। भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा चाडपर्वका लागि नयाँ नोट वितरणको विषयलाई प्राथमिकताका साथ प्रचार गर्नु उपयुक्त नदेखिएको उनले बताए।
उनका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।
“पैसा सटही गर्नु नियमित काम हो। यसका लागि छुट्टै सूचना निकालिरहनुपर्छ भन्ने छैन,” पौडेलले भने।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्वका नाममा नयाँ नोट बजारमा ल्याउने अभ्यासलाई क्रमशः घटाउँदै लगेको पनि पौडेलले बताए। नयाँ नोटको अत्यधिक प्रयोगले हरेक वर्ष ठूलो मात्रामा नोट छपाइ र व्यवस्थापन गर्नुपर्ने भएकाले सुकिला तथा सफा नोटको प्रयोगलाई प्रोत्साहन गर्न थालिएको उनको भनाइ छ।
राष्ट्र बैंकका अनुसार भदौ ३१ गतेसम्म मुलुकमा चलनचल्तीमा रहेको मुद्रा (Currency in Circulation) करिब ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैंका बेला यो रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान राष्ट्र बैंकको छ।