पर्सा : नयाँ सवारी साधन आयात हुने मुलुकको प्रमुख नाका वीरगन्ज भन्सार नाकाबाट तयारीको साटो अन एसेम्बल्ड मोटरसाइकलको आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षमा यो प्रवृत्ति झनै बढेको छ । चालु आवको जेठ महिनासम्ममा यो नाकाबाट ४ हजार १ सय ६० थान एसेम्बल्ड (पूर्ण रुपले तयार पारिएको) मोटरसाइकल आयात भएकोमा ४४ हजार २ सय ४० वटा अन एसेम्बल्ड (तयार नपारिएको) मोटरसइकल आयात भएका छन् ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, जेठ मसान्तसम्मको अवधिमा यो नाका हुँदै ३९ करोड रुपैयाँ बराबरको ४ हजार १ सय ६० थान एसेम्बल्ड मोटरसाइकल आयात भएका छन् ।
जसबाट ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसै अवधिमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको ४४ हजार २ सय ४० अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । जसबाट ५ अर्ब ५१ करोड रुपैया राजश्व संकलन भएको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारी नेपालमा बढी रुचाइएको पल्सर, टिभिएस, रोयल इनफिल्ड मोटरसाइकल नेपालमै एसेम्बल हुन थालेकाले तयारी भन्दा तयार नगरेर विभिन्न पार्टपुर्जामा मोटरसाइकल आयात हुन थालेको बताउँछन् ।
यी मोटरसाइकल उत्पादक उद्योगहरुले नेपालमै आ–आफ्ना प्लान्ट स्थापना गरी मोटरसाइकल एसेम्बल गर्न थालेकाले तयारी मोटर साइकलको आयात बर्सेनि घट्दो क्रममा रहेको उनले बताए ।
तयारी मोटरसाइकल भन्दा तयार नगरेर पार्टपुर्जामा आयात गरिने मोटरसाइकलको भन्सार र अन्तःशुल्क दुबै कम रहेकाले पनि नेपालमा राम्रो बजार जमाएका मोटरसाइकल उत्पादक कम्पनीहरुले नेपालमै आफ्नो मोटरसाइकल तयार गर्ने प्लान्ट स्थापना गरेको हुन सक्ने उनले बताए ।
‘सामान्यतया तयारी मोटरसाइकल आयात गर्दा भन्दा पार्टपुर्जामा मोटरसाइकल आयात गर्दा भन्सार र अन्तःशुल्क दुबैमा २५र२५ प्रतिशत कम राजश्व लाग्छ,’ उनले भने, ‘राजश्वमा यति छुट पाउँदा मोटरसाइकल उत्पादक कम्पनीहरुले यसको लाभ लिन नेपालमै आफ्नो एसेम्बलिङ पाल्ट राख्नु लाभदायका सोचेको हुन सक्छ ।’
वीरगन्ज नाका हुँदै भारत तथा तेश्रो मुलुकबाट मोटरसाइकल आयात हुने गरेको छ । तुलनात्मक रुपमा भारतीय मोटरसाइकलको आयात बढी हुन्छ ।सभार ः कान्तिपुर