हराएको छोरा खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा फोन गरेका एक प्रहरी कर्मचारीले आफ्नै सहकर्मीबाट अपमानजनक गालीगलौज सहनुपरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोलाई मधेश प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको छ।
आफूलाई प्रहरी नायब निरीक्षक ९सइ० बताउँदै डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवमाथि फोनमार्फत अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि महतोमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो।
घटनाको छानबिनका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरले शनिबार दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरेको थियो। सोही घटनालाई लिएर आइतबार महतोलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।
ढकालका अनुसार घटनामा प्रयोग गरिएको भाषा, शब्द र व्यवहारप्रति प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको उनले बताए।
यादवका १७ वर्षीय छोरा चन्दनकुमार एसईई उत्तीर्ण गरेपछि अध्ययनका सिलसिलामा राजधानीमा बस्दै आएका थिए। छठ पर्व मनाउन घर आएका चन्दन दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट अचानक हराएका थिए।
छोराको खोजीका लागि प्रहरीलाई जानकारी गराउन यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेका थिए। कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी टिपाउन भनिएपछि उनले पुनः सञ्चार शाखामा फोन गरेका थिए।
त्यसक्रममा आफूलाई सञ्चार शाखाको प्रहरी नायब निरीक्षक ९सइ० बताउने महतोले ‘जय नेपाल’ नभनेको भन्दै यादवमाथि फोनमै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ।
घटनासम्बन्धी अडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रैको व्यवहार र सेवाग्राहीप्रतिको जवाफदेहितामाथि प्रश्न उठेको छ।