वीरगन्ज– वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेलजस्ता पेट्रोलियम पदार्थ आयात भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ९९ अर्ब ९५ करोड मूल्यबराबरको ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल र ३८ अर्ब ७२ करोड रुपैयाँ मूल्यबरबारको ४ लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको हो।
यस्तै, गत आर्थिक वर्षमै ३६ अर्ब ३७ करोड रुपैयाँ मूल्यबराबरको ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपी ग्यास, १६ अर्ब १४ करोड मूल्यको एक लाख ८० हजार ६६३ किलोलिटर एटीएफ, ६९ करोड रुपैयाँ मूल्यबराबरको ७ हजार ९३० किलोलिटर मट्टितेल आयात भएको हो।
वीरगन्ज भन्सार नाका हँुदै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार गत आर्थिक वर्षमा आयात भएका पेट्रोलियम पदार्थबाट वीरगन्ज भन्सार कार्यालयले ८० अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
वीरगन्ज नाका हुँदै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा पेट्रोलियम पदार्थको आयात घटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए। उनका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १ अर्ब ९४ करोड रुपैयाँ कम मूल्यको पेट्रोलियम पदार्थ आयात भएको बताए। पेट्रोलियम पदार्थको आयात घटे पनि त्यसबापत संकलन हुने राजस्व भने बढेको उनले बताए। लामिछानेले पेट्रोलियम पदार्थको आयातबाट हुने गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १०.२३ प्रतिशत अर्थात् ७ अर्ब ५१ करोड रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिए।
लामिछानेले गत आर्थिक वर्षमा वीरगन्ज भन्सारमा सबैभन्दा धेरै राजस्व संकलन पेट्रोलियम पदार्थकै आयातबाट गरिएको बताए। उनका अनुसार भन्सार कार्यालयको राजस्व संकलनमा पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन, औद्योगिक कच्चा पर्दाको योगदान बढी हुने गरेको छ।