प्रहरीको हतियार लुट्ने र हिरासतबाट फरार भएका दुई युवक लागूऔषध ब्राउन सुगर सहित शनिबार पक्राउ परेका छन्। दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा साँझ करिब ५ बजे प्रहरीको टोलीले छापा मार्दा ८ जना पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेकामध्ये दमक–३ का १८ वर्षीय आदित्य लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकमा भएको हतियार लुटपाट प्रकरणमा संलग्न व्यक्ति र मोरङ मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेललाई हिरासतबाट फरार फरार अभियुक्तका रूपमा पहिचान गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शिविरको सेक्टर ‘ए–३’ हट नं. ३५३ मा बसोबास गर्दै आएका साजन थापाको घरमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा ७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो। उक्त पदार्थ चस्माको खाली खोलभित्र लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा साजन थापा (२७), दीपेश तामाङ (३२), सनम राई (३२), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५), विजय माझी (२५), आदित्य लिम्बू (१८) र निश्चल पोर्तेल (२०) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाका अनुसार आदित्य लिम्बू जेनजी आन्दोलनका क्रममा हतियार लुट्ने घटनामा संलग्न थिए भने निश्चल पोर्तेल मोरङ उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा लागूऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेको बेला सोही आन्दोलनका क्रममा हिरासतबाट फरार भएका थिए।
हाल प्रहरीले सबै पक्राउ परेकामाथि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।