लोकआस्थाको महापर्व छठको दोस्रो दिन आइतबार देशभरका ब्रतालुहरू ‘रसिया रोटी (खरना)’ विधिको तयारीमा व्यस्त छन्। हिजो नहाय–खाय विधि सम्पन्न गरेपछि आज कार्तिक शुक्ल पञ्चमीका दिन पवित्रता, श्रद्धा र निष्ठासहित खरना अनुष्ठान सम्पन्न गरिँदैछ।
आज बिहान स्नान गरी शुद्ध वेशभूषामा रहने ब्रतालुहरूले दिनभर निराहार रहन्छन्। साँझ चन्द्र दर्शनोपरान्त माटोको नयाँ चुल्हो तथा भाँडामा चामल, दूध र सक्खर मिसाई पकाइएको खिर कूलदेवता र छठी मइँलाई चढाइन्छ। त्यसपछि सो खिर प्रसादस्वरूप ग्रहण गरिन्छ। व्रतालुको आत्म–शुद्धि र भक्ति दृढ बनाउने यो प्रक्रियालाई ‘खरना’ भनिन्छ।
छठको तेस्रो दिन कार्तिक शुक्ल षष्ठीमा व्रतधारीहरू आकर्षक रूपमा सजिएका घाटहरूमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्छन्। यसलाई तराई–मधेशमा ‘साँझको घाट’ वा ‘सँझिया घाट’ भनिन्छ।
भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएसँगै छठ पर्वको विधिवत् समापन हुने परम्परा छ।
छठमा अघ्र्यका लागि बनाइने ठकुवा, भुसुवा लगायतका प्रसाद ढिकी–जाँतोमा कुटिएको चामल तथा गहुँबाट बनाइन्छन्, जसलाई शुद्ध र पवित्र मिष्टान्न मानिन्छ। प्रसाद पकाउन नयाँ माटोको चुल्हो बनाउने, घाट तथा जलाशयको सफाइ र सजावटमा विशेष ध्यान दिइने परम्परा छ।
पहिले तराई–मधेशमा सीमित यो पर्व अहिले पहाड र शहरी क्षेत्रसम्म विस्तार भई राष्ट्रिय पहिचानको साझा पर्व बनेको छ। छठताकै बेला मुस्लिम समुदायका धेरै व्यक्तिहरूले समेत सहयोग गर्दै धार्मिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका हुन्छन्।
छठ केवल पूजा–अर्चनामा सीमित नभई समाजमा एकता, अनुशासन, प्रकृतिप्रतिको आभार प्रकट गर्ने पर्वका रूपमा स्थापित हुँदै आएको छ। सूर्यदेव तथा जल–माटो–अन्नप्रतिको सम्मानमार्फत यसले लोकसंस्कृतिको मौलिक स्वरूप झल्काएको छ।