वीरगञ्ज । इन्सपायर एजुकेशनको आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालय, पर्साको सहयोगमा आजदेखि दुई महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु गरिएको छ। कक्षा संकल्प लोक सेवा आयोगको कार्यालयमा सञ्चालन गरिएको हो।
कार्यक्रम इन्सपायर एजुकेशनका अध्यक्ष अशोक कुमार साहको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गुप्ताले वडाका नागरिकलाई सक्षम बनाउँदै रोजगारका अवसरतर्फ अघि बढाउने उद्देश्यसहित विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले वडाबासीलाई समृद्धि र विकासको दिशामा अगाडि बढाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, आफूलाई विश्वास गरी निर्वाचित गराएकोमा मतदाताप्रति धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा वडा सचिव मेघराज श्रेष्ठ, वडा सदस्यहरू गीता मानन्धर, सोनी कुमारी पासवान, लालबाबु प्रसाद कलवार, नन्दकिशोर चौहान लगायतको उपस्थिति रहेको थियो। साथै, जगत समाचारका सञ्चालक तथा जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईले पनि आफ्ना धारणा राखेका थिए।
तालिममा ३० जना विद्यार्थीको सहभागिता रहेको छ। तालिम अवधिभर अशोक कुमार साहले प्रशिक्षण दिने छन्।
उद्घाटन समारोहको सहजीकरण श्रीकान्त वैठाले गरेका थिए।