वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय पर्सा अन्तर्गतका विभिन्न वन क्षेत्रमा लागेको डढेलो एक सातासम्म पनि नियन्त्रणमा आउन सकेको छैन। लामो समयदेखि जारी आगलागीका कारण करोडौं मूल्य बराबरका काठ, बोटबिरुवा र जडीबुटी नष्ट भएका छन् भने जङ्गलसँग जोडिएका दर्जनौं बस्तीमा स्वास्थ्य संकट बढ्दै गएको छ।
वसन्तपुर, रङ्पुर, मानवा, बढनियार र सोलकपुर सब-डिभिजन क्षेत्रसँगै निकुञ्जका महादेव, चारभैया, गडुवा लाइन र निर्मल बस्ती पोस्ट आसपास भीषण आगलागी भइरहेको छ। साथै पञ्चमुखी र कुसुम बाटिका मध्यवर्ती सामुदायिक वनसमेत डढेलोको चपेटामा परेका छन्। स्थानीयका अनुसार, एक सातादेखि फैलिएको आगोले वनस्पति व्यापक रूपमा नष्ट गरेको छ।
डढेलोबाट निस्किएको बाक्लो धुवाँका कारण निर्मल बस्ती, सुवर्णपुर, महादेवपट्टि, सेढवा, सङ्करसरैया, गादी, सुनबर्सा र बिरुवागुठीलगायतका गाउँका बासिन्दा प्रभावित भएका छन्। विशेषगरी बिहानपख धुवाँले वातावरण नै ढाक्ने गरेको छ, जसका कारण आँखा पोल्ने, रातो हुने तथा श्वासप्रश्वासमा समस्या देखिन थालेको स्थानीयले बताएका छन्।
डढेलो नियन्त्रणमा ढिलाइ भएको भन्दै स्थानीयले सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन्। यता वन कार्यालयले भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहकार्यमा आगो नियन्त्रणका प्रयास भइरहेको जनाएको छ। भौगोलिक कठिनाइका कारण सबै क्षेत्रमा एकैपटक नियन्त्रण गर्न चुनौती रहेको बताइएको छ।