बीरगंज महानगरपालिका–९ मा अवस्थित बिपिएस+२ (BPS+2) कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरूले दैसी–भैलो कार्यक्रमबाट संकलित रकम प्रयोग गरी मानव सेवा आश्रमका असहाय र विपन्न व्यक्तिहरूलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्। साथै विद्यार्थीहरूले आश्रम परिसरमा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरी सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
शनिबार सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले मानव सेवा आश्रमका आश्रितहरूलाई चामल, दाल, तेल, नुन, साबुन, कपडा लगायतका दैनिक उपभोगका सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा बिपिएस+२ का निर्देशक दीपक पटेल, शिक्षक–शिक्षिका, विद्यार्थी प्रतिनिधि तथा मानव सेवा आश्रमका सञ्चालकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। निर्देशक दीपक पटेलले जानकारी दिँदै भने, हाम्रो विद्यार्थीहरूले तिहारको अवसरमा दैसी–भैलो खेलेर संकलन गरेको रकमलाई रमाइलोमा मात्रै सीमित नराखी सामाजिक सेवामा प्रयोग गरेर एक उदाहरणीय कार्य गरेका छन्। यस्तो मानवीय भावना र जिम्मेवारीले विद्यार्थीहरूमा मानवता र सहानुभूतिको विकास गर्न सहयोग पुर्याउँछ।उनका अनुसार आजको युगमा धेरै मानिसहरू दैसी–भैलोलाई केवल मनोरञ्जन र व्यक्तिगत फाइदाको माध्यमको रूपमा लिन्छन्, तर बिपिएस+२ का विद्यार्थीहरूले त्यो परम्परागत अभ्यासलाई समाजसेवामा परिणत गर्दै नयाँ सोचको सुरुवात गरेका छन्।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि असहाय र वृद्ध व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि महसुस भएको बताएका थिए। उनीहरूले भविष्यमा पनि यस्ता सामाजिक कार्यमा संलग्न हुने प्रतिवद्धता जनाएका छन्। मानव सेवा आश्रमका प्रतिनिधिहरूले विद्यार्थीहरूको यस योगदानप्रति आभार व्यक्त गर्दै भनेका छन् कि, “युवापुस्तामा रहेको यस्तो मानवतापूर्ण सोचले समाजमा सकारात्मक ऊर्जा ल्याउनेछ र अन्य कलेजका विद्यार्थीहरुले पनि सिकुन भन्ने उदेश्यले विद्यार्थीहरूलाई पनि प्रेरित गरुन् हाम्रो अपेक्षा रहेको छ।”यस कार्यले विद्यार्थीहरूमा सामूहिक सहयोग सवभाव र सामाजिक उत्तरदायित्वबोध जागृत गर्न महत्वपूर्ण भूमिका खेलेको बिपिएस+२ कलेजका निर्देशक दिपक पटेलले जानकारी दिनुभएको छ। कार्यक्रममा एचआर निर्देशक सन्दीप कुशवहा,शिक्षक विशेष दुवेढी,रवि यादव ,रेशम पटेल ,कृति चौधरी तथा अन्य शिक्षकहरुको समेत उपस्थित रहेको थियो ।