काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ । वार्तामा प्रसाईं सहभागी छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा नेतृत्वमा देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी छन् ।
खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई माग पत्र बुझाएका छन् । त्यसमाथि छलफल जारी छ ।
सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नभएर खतिवडाको नेतृत्वको टोली वार्तामा पठाएका हुन् । वार्ता सुरु हुनुअघि खतिवडाले भनेका थिए, ‘प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ, मन्त्रीस्तरीय वार्तामा हामी सहभागी हुँदैछौं ।’
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँगको वार्ता पुष्टि गरे । वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरेका छन् ।
प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलन गर्न उक्साउ अभिव्यक्ति दिएका थिए ।
आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
यही कात्तिक महिनामा विवादास्पद मेडिकल व्यवसायी प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले समेत छलफल गरेका थिए ।