आनन्द पटेल
सरकारबाट बजेट नआएपछि पर्सा स्थित घरेलु तथा साना उद्योग विकास कार्यालयले यो वर्ष कुनै पनि सीपमूलक तालिम सञ्चालन गर्न सकेको छैन। यसको प्रभावमा करिब पाँच सयभन्दा बढी स्थानीय नागरिक, विशेषगरी महिला, युवती र दलित समुदायका युवाहरू विभिन्न सीपमूलक तालिमबाट वञ्चित भएका छन्।
कार्यालय प्रमुख पवन पञ्जियारले भने, “हरेक वर्ष यो समयमा ब्युटी पार्लर, सिलाइ–कटाइ, गाडी चालक, र दलित समुदायका लागि विशेष सीप विकास तालिमहरू सञ्चालन भइसकेका हुन्थे। तर यस वर्ष सरकारले बजेट विनियोजन नै नगरेकाले हामीलाई तालिम सञ्चालन गर्न गाह्रो भएको छ।”

उनका अनुसार कार्यालयमा सीप सिक्न इच्छुक युवाहरू दैनिक रुपमा जानकारी लिन आउने गर्छन्, तर बजेट अभावका कारण सबैलाई निराश पार्नुपरेको छ। “हामीसँग चाहना र योजना दुवै छन्, तर स्रोत अभावमा अहिलेका लागि खाली हात बस्नुपरेको छ,” उनले दुःखेसो व्यक्त गरे।
यद्यपि, कार्यालयका अन्य नियमित कामहरू—जस्तै नयाँ उद्योग दर्ता, नवीकरण, र फिल्ड भिजिट—सामान्य रूपमा जारी रहेको उनले बताए। साथै उनले सेवा ग्राहीहरूलाई कुनै बिचौलियाको फन्दामा नपरी कार्यालयसँग सिधा सम्पर्क गर्न आग्रह गर्दै, गलत गतिविधिमा संलग्न जो–कोहीमाथि कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिए।
पञ्जियारका अनुसार यदि सरकारको ध्यान यता नपुग्ने हो भने स्थानीय तहमा सीपमूलक तालिमको अवसर गुम्दा धेरै युवाहरू स्वरोजगारको बाटोबाट वञ्चित हुने जोखिम बढ्दै जानेछ। उनले युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्ने अवसर सुनिश्चित गर्न सरकारसँग तत्काल बजेटको व्यवस्था गर्न आग्रह गरेका छन ।