नेकपा एमाले पर्सा जिल्लाको पाँचौ पूर्ण बैठक सोमबार सम्पन्न भएको छ। पार्टी संगठन सुदृढीकरण, अनुशासन, जिम्मेवारी हेरफेर तथा आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयनसम्बन्धी महत्वपूर्ण निर्णयहरू बैठकले पारित गरेको जिल्ला सचिवालयले जनाएको छ। जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथिका रूपमा नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उप–प्रधानमन्त्री रघुवीर महासेठ उपस्थित थिए। महासेठले एमालेभित्र देखिने आन्तरिक द्वन्द्व र मतभेद हटाई एकताबद्ध रूपमा अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘जवज’ सिद्धान्तको सफल कार्यान्वयन हुँदै गएको दाबी गरे। उनले देश र मधेश प्रदेश दुवै तहमा एमाले पहिलो शक्ति बन्न सफल भएको उल्लेख गर्दै आगामी चुनाव पनि ओलीकै नेतृत्वमा सफलतापूर्वक लडिने दाबी गरे। “राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति केन्द्रहरूले अध्यक्ष ओलीलाई कमजोर पार्ने प्रयास गरिरहेका छन्। तर आगामी महाधिवेशनपछि पनि एमालेले एकीकृत निर्णयसहित ओलीकै नेतृत्वमा अघि बढ्नु आवश्यक छ,” महासेठले भने।
.jpeg)
बैठकमा केन्द्रीय सदस्यहरू प्रभु हजरा, निर्मला देवकोटा, जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुरप्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारु, प्रदेशसभा सदस्य वीणा शर्मा, पोखरिया नगरपालिकाका प्रमुख प्रधुम्न चौहान, सखुवा–प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादव, छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज कुमार गुप्ता लगायतका नेताहरू उपस्थित रहेका थिए। यसबाहेक पर्सा जिल्लाका विभिन्न पालिका, वडा र भातृ–संंगठनका प्रतिनिधिहरू, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैठकले आगामी १३ गते महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ। सोहीसँगै २७ गते काठमाडौंमा हुने महाधिवेशन उद्घाटन समारोहमा पर्साबाट व्यापक जनसहभागिता सुनिश्चित गर्ने निर्णय पनि गरिएको छ। बैठकले भदौ २३ र २४ गतेका घटनापछि विभिन्न माध्यमबाट दिएको राजीनामा तथा आगजनी, तोडफोडजस्ता गतिविधिमा संलग्न भएको प्रमाणित सदस्यहरूको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको जिल्ला सचिव महेश दासले जानकारी दिए।
उनका अनुसार पार्टीको अनुशासन र संगठनात्मक मर्यादा कायम गर्न कठोर निर्णय लिनु बाध्यात्मक भएको बताइएको छ। बैठकले जिल्ला प्रचार विभाग प्रमुखमा सुन्दर प्रसाद कुर्मीलाई मनोनयन गरेको पनि सचिव दासले जानकारी दिएका छन्। कुर्मी विगत लामो समयदेखि संगठनात्मक तथा प्रचार गतिविधिमा सक्रिय रहँदै आएका छन्।