पर्सा प्रहरीले ठूलो परिमाणको चोरी गरिएको अनुमान गरिएको सुनचाँदीका गहनासहित चारजनालाई पक्राउ गरेको छ। करिब ३७ लाख रुपैयाँ बराबरको गहना बरामद भएपछि प्रहरीले यसलाई धेरै दिनदेखि सक्रिय रहेको ‘साना मेलाहरू र भिडभाडमा मौका छोप्ने समूह’को गतिविधि भएको बताएको छ। पक्राउ पर्नेमा तीन भारतीय नागरिक र एक नेपाली युवक छन्।
कात्तिक ३० गते साँझतिर वीरगन्ज महानगरपालिका–३२ मा गस्तीमा रहेका प्रहरीलाई लु ९६ प ३७३३ नम्बरको स्कुटी शंकास्पद देखियो। रोकिएको स्कुटीमा सवार ६० वर्षीय शेख बुनादको शरीर जाँचिँदा पाइन्टको खल्तीबाट सेतो रुमालमा बेरिएको केही सुनका गहना भेटिए, जसको कुनै बिल–बिजक थिएन। त्यसैबेला उनलाई नियन्त्रणमा लिइयो र अनुसन्धान अघि बढ्यो।
बुनादको बयानपछि प्रहरीले वीरगन्ज–३२ टेढामा बस्ने २० वर्षीय विद्याकुमार नटको घरमा खानतलासी गर्यो। त्यहाँ भेटिएको दृश्य प्रहरीले ‘सुनचाँदी लुकाउने सुरक्षित गोदाम’ जस्तै देखिएको बताएको छ। सुनको सिक्री ११ थान, झुम्का २, नथिया ३, मागटीका २, पोतेमाला २, सुनको लकेट १, औंठी १, बिछिया ८, चाँदीका पाउजु १०, सिक्का २, हातशंकर २ सुनचाँदी तौल गर्ने डिजिटल तराजु यसका साथै नेपाली ३ लाख ७९ हजार रुपैयाँ र भारतीय ९ हजार २०० रुपैयाँ पनि बरामद भएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर बस्नेतले बताए।
प्रहरीले बरामद गरिएका गहनाहरू मेला, जात्रा, उत्सव र भीडभाडका बेला चोरी गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। “विभिन्न स्थान र विभिन्न समयमा चोरी भएका गहना हुनसक्छन्। बिल–बिजकसहित धनी आएको खण्डमा आवश्यक छानबिन गरी फिर्ता गरिनेछ।” विजय राय बिहार, बेतिया, शेख बुनाद बिहार, बेतिया, विनोद राउत बिहार, विद्याकुमार नट वीरगन्ज–३२ चारैजनालाई चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनसम्म हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।