जेनजी युवा आन्दोलनका क्रममा बीरगंज महानगरपालिकाको कार्यालयमा आगजनी तथा तोडफोड भएपछि नियमित सेवा सञ्चालनमा समस्या परेको अवस्थामा प्याब्सन, एन–प्याब्सन र हिसनले संयुक्त रूपमा लाखौँ मूल्य बराबरका फर्निचर तथा कम्प्युटर सामग्री सहयोग गरेका छन्। बुधबार प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको नेतृत्वमा सामग्रीहरू महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। महानगर उपमेयर इम्तियाज आलम, प्रशासनिक अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने र सूचना अधिकारी सुनिल कर्णलाई औपचारिक रूपमा फर्निचर र कम्प्युटर उपकरण बुझाइयो।जेनजी आन्दोलनका समयमा भएको क्षतिको कारण बीरगंज महानगरपालिकाले कार्यालय सञ्चालनमा कठिनाइ भोगिरहेको थियो।
यसै कारण नगर प्रमुख राजेशमान सिंहले विभिन्न संघ–संस्थाहरूलाई आवश्यक सामग्री सहयोगका लागि सार्वजनिक अपिल गरेका थिए। सोही अपिलपछि प्याब्सन, एन–प्याब्सन र हिसनले संयुक्त रूपमा सहयोग उपलब्ध गराएको प्याब्सन महानगर अध्यक्ष श्रीवास्तवले जानकारी दिए। उनका अनुसार, महानगरले अविलम्ब सेवा पुनःसञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले आवश्यक टेबल, कर्सी, क्याबिनेट, कम्प्युटर, प्रिन्टरलगायत सामग्री उपलब्ध गराइएको हो। उपमेयर आलमले यस्ता कठिन परिस्थितिमा गरिएको सहयोगले महानगरको सेवा प्रवाह सहज बनाउन ठूलो योगदान पुर्याउने बताए।बीरगंज महानगरपालिकाले हाल क्षतिग्रस्त भएको कार्यालय पुनर्निर्माण र आवश्यक संरचना तथा उपकरण व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकतामा राखेको नगर अध्यक्ष श्रीवास्तवले बताएका छन् ।
हस्तान्तरण कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी , वरिष्ठ उपाध्यक्ष सुशीला साह,सचिव अशोक संग्रोला,सदस्य शुलभ केसी ,मन्जु राना भट्ट ,प्याब्सन महानगर सचिव अमित आलोक,हिसान उपाध्यक्ष आलोक चौरसिया,सदस्य बिजय बल,एन प्याब्सन जिल्ला अध्यक्ष राम श्रेष्ठ ,एन प्याब्सन अध्यक्ष जयालाल साह,सोनालाल पटेल नगर प्रहरी इन्चार्ज हरिभुषाल तथा विभिन्न निजी बिधालयका प्रिन्सिपल तथा शिक्षक शिक्षिकाहरुको उल्लेखनीय उपस्थित रहेको प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिनुभएको छ।