वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवारको टिकट दिएको छ । सोमबार रास्वपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता गणेश पराजुलीले तामाङलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका हुन् ।
रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ अब धादिङ क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।
यसअघि तामाङले काठमाडौँका क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेकी थिइन् । केही समयअघि आफ्नो फेसबुक पेजमार्फत लामो स्ट्याटस लेख्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट स्वतन्त्र रूपमा लड्ने निर्णय सुनाएकी थिइन् ।
स्ट्याटसमा तामाङले विगतका हप्ताहरूमा सक्रिय राजनीतिमा प्रवेश गर्नेरनगर्ने विषयमा गम्भीर आत्ममन्थन, सरोकारवालासँग संवाद, सामाजिक सञ्जालमा मत सर्वेक्षण र विशेष गरी युवा पुस्तासँग छलफल गरेको उल्लेख गरेकी थिइन् ।
छलफलहरूबाट प्राप्त सुझाव र आलोचनालाई सम्मान गर्दै दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने निर्णय लिएको उनको भनाइ थियो । उनले कुनै पनि दलमा आबद्ध नहुने अठोटका साथ युवा पुस्ताको आवाज, जबाफदेही राजनीति, पारदर्शिता, भ्रष्टाचारविरुद्धको लडाइँ र व्यावहारिक समाधानलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिन लागेको स्पष्ट पारेकी थिइन् । “हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ भन्ने तपाईँहरूको विश्वासलाई म कहिल्यै टुट्न दिने छैन,” उनले लेखेकी थिइन् ।
अब रास्वपाबाट धादिङ-१ मा उम्मेदवारी घोषणा भएसँगै तामाङको राजनीतिक यात्राले नयाँ मोड लिएको छ ।