वीरगञ्ज । नेपाली काँग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाले नगवा क्षेत्रमा पार्टीका युवा तथा अग्रज कार्यकर्तासँग विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममार्फत उनले स्थानीय मतदाता र कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै जनताको विश्वासलाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटघाट कार्यक्रममा उपस्थित कार्यकर्ता तथा स्थानीय मतदातालाई ढोग्दै उम्मेदवार रुङटाले पर्सा–१ का जनताको भरोसा कहिल्यै टुट्न नदिने बताएका थिए। उनले जनविश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्ने बताए।
रुङटाले विगतमा विभिन्न नेताहरूले नगवा क्षेत्रका जनतालाई भ्रममा पारेको आरोप लगाउँदै यस क्षेत्रको दीर्घकालीन विकासमा आफू प्रतिबद्ध रहेको धारणा राखे। चुनाव जितेपछि नगवाको पहिचानसँग जोडिएको नगवा पोखरीको समग्र विकासलाई प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे। “नगवाको मुटुका रूपमा रहेको नगवा पोखरीको संरक्षण र विकास मेरो मुख्य एजेन्डा हुनेछ,” उनले भने।
लफलका क्रममा स्थानीय राजनीतिक अवस्था, पार्टी सङ्गठन सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीबारे विस्तृत विचार–विमर्श गरिएको थियो। रुङटाले लोकतान्त्रिक मूल्य–मान्यता र विकासका एजेन्डा जनस्तरसम्म पुर्याउन युवाको भूमिका निर्णायक हुने बताए।
उनले पार्टीलाई अझ प्रभावकारी र संगठित बनाउन सबै कार्यकर्ता एकताबद्ध र अनुशासित रूपमा परिचालित हुनुपर्नेमा जोड दिँदै युवाहरूको सक्रिय सहभागिताबिना सङ्गठन बलियो बन्न नसक्ने धारणा व्यक्त गरे। काँग्रेसको सन्देश घर–घर पुर्याउने जिम्मेवारी युवामाथि रहेको उनले उल्लेख गरे।
कार्यक्रममा सहभागी युवा तथा अग्रज कार्यकर्ताहरूले स्थानीय समस्या, जनअपेक्षा तथा चुनावी अभियानलाई प्रभावकारी बनाउने उपायबारे सुझाव दिएका थिए। उनीहरूले उम्मेदवार रुङटाप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीको विजयका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
उक्त भेटघाट कार्यक्रमले नगवा क्षेत्रसहित पर्सा–१ मा नेपाली काँग्रेसको सङ्गठनात्मक गतिविधि थप सक्रिय बन्ने र चुनावी अभियानमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।