जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शनिबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । तर, आवश्यक बहुमत जुटाउन नसक्दा उनको सरकारको भविष्य अझै अनिश्चित बनेको छ ।
एक महिनादेखि अल्पमतको सरकार सञ्चालन गरिरहेका मुख्यमन्त्री यादवले आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
१ सय ७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर, हाल कायम १ सय ३ सांसदमध्ये मुख्यमन्त्री यादवको दल नेपाली कांग्रेसका २२ सांसद मात्रै छन् । एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव अल्पमतमा परेका हुन् ।
विश्वासको मत पाउन नसके मुख्यमन्त्री यादव आजै पदमुक्त हुनेछन् । त्यसपछि मधेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।
मधेश प्रदेश सभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दल छ । जसपाले नयाँ सरकारको नेतृत्व गर्ने रणनीति बनाइरहेको छ । त्यस्तै, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।