वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका–२ स्थित बैरिया बिर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बिहीबार बिहान स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो तथा अन्तरक्रिया कार्यक्रममार्फत उम्मेदवार कानुले स्थानीय जनता, समाजसेवी, भलाद्मी तथा बुद्धिजीवीसँग संवाद गर्दै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ छापमा मतदान गर्न आग्रह गरेका छन्।
कार्यक्रमका क्रममा उनले विगत करिब ३० वर्षदेखि व्यक्ति–केन्द्रित राजनीतिका कारण देशको विकास अवरुद्ध भएको उल्लेख गर्दै अब त्यस प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताए। जनताको प्रत्यक्ष सहभागिता र जबाफदेही शासन प्रणाली स्थापना गर्न परिवर्तन अपरिहार्य भइसकेको उनको भनाइ थियो।
कानुले देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट र व्यावहारिक रोडम्याप प्रस्तुत गरेको दाबी गरे। पुराना दल र नेताहरूले दिएको आश्वासन व्यवहारमा लागू हुन नसक्दा जनतामा निराशा बढेको उल्लेख गर्दै अब परिणाममुखी र पारदर्शी राजनीतिको खाँचो रहेको उनले बताए।
छलफलका क्रममा स्थानीय बासिन्दाले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले दोहोरिएका अनुहार र पुरानै वाचा–प्रतिवाचाबाट दिक्क भएको जनाउँदै वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।
उम्मेदवार कानुले विशेष गरी युवा तथा जेन–जी पुस्ता नयाँ राजनीतिक विकल्पको खोजीमा रहेको उल्लेख गर्दै रास्वपाप्रति समर्थन बढ्दै गएको बताए। घरदैलो अभियानका क्रममा युवाहरूबाट सकारात्मक प्रतिक्रिया र समर्थन प्राप्त भएको उनको भनाइ छ।
जनताको आवाज प्रत्यक्ष रूपमा सुन्ने र स्थानीय समस्या संसद्सम्म पुर्याउने प्रतिबद्धता जनाउँदै कानुले चुनावी अभियानलाई आगामी दिनमा अझ तीव्र बनाइने जानकारी दिएका छन्।