वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालमा ८५ वर्षको अवधिमा पटक–पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ताको प्रवृत्ति र चरित्र भने उस्तै रहँदै आएको बताएका छन्।
शहीद दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सन्देश सार्वजनिक गर्दै बालेनले विभिन्न कालखण्डमा नेपाली जनता शहीद हुन बाध्य भए पनि उनीहरूको सपना अझै पूरा हुन नसकेको बताएका छन्।
राणा शासनको अन्त्यका लागि सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यद्वारा क्रूरतापूर्वक हत्या गरिएको ८५ वर्ष पूरा भएको उल्लेख गर्दै उनले त्यसको एक दशकपछि राणा शासन अन्त्य भए पनि राज्य जनताको बन्न नसकेको औँल्याए।
उनले भनेका छन्, “८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो तर सत्ताको चरित्र फेरिएन। पटक–पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पूरा हुन सकेनन्।”
गत भदौमा भएको ‘जेन–जी आन्दोलन’को स्मरण गर्दै बालेनले सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले आफ्नो अमूल्य जीवन गुमाउनुपरेको उल्लेख गरे। उनका अनुसार अहिलेको पुस्ता ती शहीदका सपना पूरा गर्ने दिशामा अघि बढिरहेको छ।
बालेनले लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु आजको प्रमुख दायित्व भएको बताए। साथै, राज्यका निकायहरूमा व्याप्त चरम दलीयकरण अन्त्य गर्दै राज्यलाई जबाफदेही र पारदर्शी बनाउनु अनिवार्य रहेको उनको भनाइ छ।
शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई नभएको उल्लेख गर्दै उनले शहीद दिवसलाई सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै उनीहरूको सपना साकार पार्न मन, वचन र कर्मले प्रतिबद्ध हुने अवसरका रूपमा लिनुपर्ने बताए।
“अब फेरि कसैले शहीद बन्नु नपरोस्,” भन्दै उनले सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।