वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–१७ अलौँमा आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि सशक्त बनाउने उद्देश्यका साथ चुनाव परिचालन समिति गठन गरेको छ।
स्थानीय अगुवा तथा नेता सन्तोष सिलवालको संयोजकत्वमा २१ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको हो। समितिको सह–संयोजकमा अजय यादव र सचिवमा अजय साह चयन भएका छन्। यस्तै सदस्यहरूमा राज किशोर उपाध्याय, पूरण पटेल, गणेश सहनी, रमेश रहनी, अजय सहनी, पूर्णिमा शर्मा, संजु शर्मा लगायत रहेका छन्।
समिति गठन कार्यक्रम पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका रास्वपा उम्मेदवार सुशील कुमार कानुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नवगठित समितिले आसन्न निर्वाचनमा रास्वपालाई विजयी गराउने लक्ष्यसहित घरदैलो, जनसम्पर्क तथा विभिन्न प्रचार–प्रसार अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कानुले मुलुकमा विद्यमान पुरानो राजनीतिक प्रवृत्तिको अन्त्यका लागि रास्वपालाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे। उनले नयाँ सोच, नयाँ नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत नयाँ नेपालको निर्माण सम्भव हुने उल्लेख गर्दै स्थानीय तहबाटै परिवर्तनको अभियान सुरु गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। रास्वपाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा संगठन विस्तार र जनआधार मजबुत बनाउँदै चुनावी अभियानलाई थप तीव्रता दिएको जनाएको छ।