वीरगञ्ज । पर्सा जिल्लाका चार सयभन्दा बढी जेन–जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममा जेन–जी युवा नेता परबेज सेखको नेतृत्वमा उनीहरू रास्वपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्ने युवाहरूमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह, दानिश सेखलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै जेन–जी नेता परबेज सेखले देशमा वास्तविक परिवर्तन ल्याउन सक्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी मात्र भएको दाबी गरे। पर्साका जेन–जी युवाहरू रास्वपामा प्रवेश गरेसँगै अब पर्सामा पार्टीलाई विजयी गराउन सम्पूर्ण जेन–जी शक्ति एकजुट भएर लाग्ने उनले बताए।
उनले सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत प्रमुख जेन–जी नेताहरू पहिल्यै रास्वपामा प्रवेश गरिसकेको उल्लेख गर्दै जेन–जी आन्दोलनलाई सम्बोधन गर्न सक्षम पार्टी भएकाले आफ्नो रोजाइ रास्वपा भएको स्पष्ट पारे।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका पर्सा जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले जेन–जी युवाहरू नै पार्टीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। युवाहरूको साथ र विश्वास प्राप्त भएकाले आफू ढुक्कका साथ निर्वाचन जित्ने दाबी गरे।
सभापति पन्तले चुनावमा हुने पैसाको चलखेललाई कानुनसम्मत तरिकाले रोक्न युवाहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन समेत दिए। कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।