बीरगंज १८ माघ -नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङटाले बहुरुपिया उम्मेदवारहरूको झुटा आश्वासन र प्रलोभनमा नपरी देश विकासको स्पष्ट भिजन र दीर्घकालीन योजना बोकेको दल र उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ।
आज पिपरामा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार रुङटाले विगतका निर्वाचनमा विकासका लागि स्पष्ट योजना नभएका दल र बहुरुपिया उम्मेदवारले जनतालाई अपेक्षित नतिजा दिन नसकेको स्मरण गराउँदै यसपटक नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो।
उहाँले भने, आकर्षक नारा र आश्वासनले देश बिकास नहुने बताउनुहुँदै काँग्रेसको नेतृत्वमा आगामी पाँच वर्षभित्र विकास कार्यलाई तीव्र गतिमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उहाँले मतदातालाई झुक्याउने प्रयास गर्ने पार्टी र उम्मेदवारहरूबाट सचेत रहन आग्रह गर्दै, देश र जनतामैत्री आर्थिक नीति, रोजगारी सिर्जना र विकासका लागि नेपाली काँग्रेसलाई मतदान गर्न बल दिनुभयो।
यसै क्रममा नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पिपरा टोलमा देखिएको सडक समस्याको समाधानका लागि काँग्रेसले पहल सुरु गरिसकेको र मधेस प्रदेश सरकारले केही दिनभित्रै १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मी, महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, क्षेत्रीय सभापति अरविन्द गुप्ता, सचिव हरि यादव, पूर्व सभापति भोला साह कलवार, उपसभापति अनिल सिंह , स्थानीय पार्टीका नेता तथा कार्यकर्ताहरु र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।