जनता समाजवादी पार्टी, नेपालका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार डा. कृपासिन्धु चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार र पर्यटनलाई विकासको मूल आधार बनाउँदै विस्तृत चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भए संसद्मा प्रभावकारी भूमिका खेल्दै क्षेत्र तथा मुलुकका साझा समस्याको समाधानमा सक्रिय रहने उहाँले बताउनुभयो। विकास र समृद्धिका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म निरन्तर लागिरहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
घोषणापत्रमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, उच्च शिक्षामा पहुँच विस्तार तथा गणित, विज्ञान, अंग्रेजी र कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ। साथै, सीपमूलक, प्राविधिक तथा व्यावसायिक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने कार्यक्रम समावेश गरिएको छ।
स्वास्थ्य सेवाको विस्तारअन्तर्गत पर्सा क्षेत्र नम्बर–४ अन्तर्गतका प्रदेशसभा क्षेत्र ९(क) र ९(ख) मा कम्तीमा एक–एक वटा अस्पताल स्थापना गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ। बालबालिका, महिला तथा युवाको मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धनका लागि खेलकुद पूर्वाधार विकास, विभिन्न प्रतियोगिता आयोजना तथा योग, ध्यान र प्राणायाम कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित उत्पादन वृद्धि, सिँचाइ सुविधा विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। आधुनिक प्रविधिको प्रयोग, कृषकलाई तालिम तथा प्रोत्साहन कार्यक्रममार्फत कृषि पेशालाई व्यवस्थित बनाइने उल्लेख गरिएको छ।
रोजगारी सिर्जनाका लागि स्थानीय स्तरमै साना तथा घरेलु उद्योग स्थापना, सीप विकास तालिम सञ्चालन र युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने योजना अघि सारिएको छ। यसका लागि सहुलियत ऋण र प्रविधि सहयोग उपलब्ध गराइने घोषणापत्रमा समेटिएको छ।
भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल विस्तार, नदी नियन्त्रण, पुल तथा आवश्यक संरचना निर्माणलाई प्राथमिकतामा राखिने उल्लेख छ। यसले शिक्षा, स्वास्थ्य सेवा र बजारसम्मको पहुँच सहज बनाउने उम्मेदवार चौधरीको भनाइ छ।
त्यसैगरी, पर्यटन विकासका लागि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गरिने योजना पनि घोषणापत्रमा समावेश छ। गढी, मन्दिर, मस्जिदलगायत धार्मिक स्थलको मर्मत–सम्भार गर्दै पर्यटनमार्फत स्थानीय अर्थतन्त्र मजबुत बनाइने जनाइएको छ।
डा. चौधरीले आफू निर्वाचित भए जनताको दुःख–सुखमा सधैं साथ दिँदै संसद्मा पर्सा–४ का आवाज सशक्त रूपमा उठाउने, समावेशी विकास र सुशासनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।