पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले हरघर रोजगारी र महिला उद्यमशीलतालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षमनवा र वडा नम्बर ८ पानी ट्यांकी क्षेत्रमा सम्पन्न भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा उम्मेदवार सरार्फले वीरगञ्ज औद्योगिक नगरी भए पनि स्थानीय युवाहरू बेरोजगार रहनु र रोजगारीको खोजीमा विदेश वा अन्य ठाउँ जानुपर्ने अवस्था दुःखद भएको बताउनुभयो।
उहाँले बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने वा आवश्यक सीप प्रदान गरी स्वरोजगारसँग जोड्ने स्पष्ट रोडम्याप आफूसँग रहेको उल्लेख गर्नुभयो। साथै महिलाहरूलाई पनि आयआर्जन र उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाउनुभयो।
सरार्फले देश र मधेसको निकासको स्पष्ट र दूरदर्शी भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा। सिके राउतसँग मात्रै रहेको दाबी गर्दै आगामी निर्वाचनमा हर्न छापमा मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्या गुप्ता, रम्भा मिश्रा, श्याम गुप्ता, राजनारायण मिश्रा, भुपेन्द्र साह, डा। मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, हिरालाल राम, डा। मोहमद राजा, रामजी रौनियार, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।