वीरगञ्ज । निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा जिल्लाले आउँदो शनिबार बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।
नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्व मन्त्री, प्रभावशाली युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यक्रमलाई पर्सा–३ मा निर्वाचन अभियानको महत्वपूर्ण मोडका रूपमा लिइएको छ। कार्यक्रममार्फत पार्टीको चुनावी रणनीति स्पष्ट पार्ने, संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्ताबीच एकता र समन्वय मजबुत बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
पार्टी नेताहरूका अनुसार आगामी निर्वाचनमा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्दै पार्टीका उम्मेदवारलाई भारी मतले विजयी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो। कार्यकर्ता भेटघाटमार्फत संगठनलाई जरा–जरा सम्म बलियो बनाउने, घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने तथा विपक्षी शक्तिबाट फैलाइएका भ्रमहरू चिर्ने रणनीति तय गरिने जनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि योगेश भट्टराईले मुलुकलाई राजनीतिक स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन नेकपा एमालेको जित अपरिहार्य रहेको सन्देश दिने कार्यक्रम रहेको छ। साथै पर्सा–३ लाई एमालेको बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्न कार्यकर्तालाई स्पष्ट कार्यदिशा र चुनावी रणनीति प्रदान गरिने बताइएको छ।
नेकपा एमाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ क्षेत्रीय समन्वय कमिटीको आयोजनामा हुने उक्त कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। एमाले नेतृत्वको सामूहिक उपस्थिति र कार्यकर्ताको उत्साहले पर्सा–३ मा चुनावी माहोल थप तातिने आँकलन गरिएको छ।
फागुन २१ गते हुने निर्वाचनमा पर्सा–३ बाट एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको जित सुनिश्चित गर्न पार्टी पूर्ण रूपमा मैदानमा उत्रिएको सन्देश दिन यो कार्यक्रम निर्णायक हुने एमाले नेताहरूको दाबी छ। पटेर्वा सुगौली गाउँपालिकास्थित श्री बनस्पति गद्दीमाई मन्दिर परिसरमा आयोजना हुने उक्त कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई सहभागी हुन आह्वान गरिएको छ।