वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत प्रसौनी बिर्तामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। जनतासँग प्रत्यक्ष संवाद गर्दै समर्थन सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त घरदैलो अभियानमा उल्लेखनीय जनसहभागिता देखिएको थियो।
नेपाली कांग्रेसका उम्मेदवार रुङटाको समर्थनमा प्रसौनी बिर्तामा स्थानीय मतदाताको उल्लेखनीय भिड देखिएको थियो। घरदैलोका क्रममा उम्मेदवार रुङटाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनमा रुख छापमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका थिए।
जनताबीच प्रत्यक्ष संवाद र समर्थन विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको घरदैलो कार्यक्रम वडा नम्बर–२३ का बुथ सभापति लोकनारायण यादवको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रमका क्रममा स्थानीय मतदाताहरूले कांग्रेसप्रति देखाएको उत्साह र भरोसाले चुनावी माहोल थप तातिएको देखिएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै बुथ सभापति लोकनारायण यादवले नेपाली कांग्रेसको नीति, सिद्धान्त तथा उम्मेदवार अनिल रुङटाको विकासमुखी सोचलाई घर–घरमा पुर्याउन सफल भएको बताए। उनले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा कांग्रेसको संगठन मजबुत रहेको उल्लेख गर्दै बुथ तहबाटै सक्रियता बढाएर उम्मेदवार रुङटाको जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाले घरदैलो अभियानमार्फत प्राप्त जनसमर्थनले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले जनताको सुख–दुःखमा सधैं साथ रहने, विकास र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याउँदै पर्सा क्षेत्र नम्बर–१ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने संकल्प व्यक्त गरे। रुङटाले नेपाली कांग्रेसको जित जनताको जित हुने स्पष्ट पार्दै सबैलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आह्वानसमेत गरे।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी सबैले एक स्वरमा पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटालाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।