नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता (MOU) सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल माघ २३ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार मानवसेवा आश्रमले उद्धार गरेका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरू, साथै आश्रमका कर्मचारी र आश्रितहरूले नेशनल मेडिकल कलेजबाट आवश्यक स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा अन्य चिकित्सकीय परामर्शहरू विशेष सहुलियतसहित प्राप्त गर्नेछन्।
सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.को तर्फबाट अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी र मानवसेवा आश्रमको तर्फबाट संरक्षक श्री देवेश प्रसादले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक श्री सहनवाज अन्सारी, CIO ई. प्रदीप कुमार चौधरी, प्रशासन अधिकृत पप्पु सिंह, मधेश विश्वविद्यालयका उप–डिन तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
यस सहकार्यले समाजका असहाय, सेवावञ्चित तथा कमजोर वर्गका नागरिकलाई सुलभ, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै ‘सेवा भन्दा पनि पर’ (Service Beyond) भन्ने भावनाका साथ समुदायकेन्द्रित स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।