१० औं प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट माविले उचालेको छ। प्याब्सन पर्साको आयोजनामा गत माघ ८ गतेदेखि शुरु भएको सर्वाधिक ४० विद्यालय सहभागी प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सनलाईट माविलाई ३ विकेटले पराजित गर्दै मुनलाईटले उपाधि उचालेको हो। गत संस्करणको समेत विजेता रहेको मुनलाईटका बलर र ब्याट्सम्यान दुवैको शानदार प्रदर्शनले सनलाईट स्तब्ध बन्यो र उपविजेतामा सीमित रहन पुग्यो।
टस जितेर पहिले ब्याटिङ गर्दै सनलाईट माविले १८।५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनको झिनो योगफल तयार गर्यो। जवाफी ब्याटिङ गरेको मुनलाईटले १२।५ ओभरमा ७ विकेट मात्र खर्चेर ७० रन बनाएपछि मुनलाईटको जित सुनिश्चित भयो। उपाधि जित्न महत्वपूर्ण २९ रनको योगदान दिएका दिलराज यादव खेलको म्यान अफ द म्याच बने।
यसअघि शनिबार बिहानै तेस्रो स्थानका लागि भएको खेलमा गोल्डेन फ्युचर स्कुललाई ९ विकेटले पराजित गर्दै सेन्ट जेभियर्स माविले तेस्रो स्थान प्राप्त गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्दै १० ओभरमा गोल्डेन फ्युचरले दिएको ४१ रनको लक्ष्य सेन्ट जेभियर्सले मात्र १ विकेट खर्चेर ६ ओभरमै पूरा गरेपछि गोल्डेन फ्युचर चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो। खेलको म्यान अफ द म्याच सेन्ट जेभियर्सका महमद आसिफ अली भए।
यस्तै, शुक्रबार भएको क्वार्टरफाइनलबाट बाहिरिएका टिमहरूबीचको प्रतियोगितामा गौतम मावि विजयी हुँदै प्लेट च्याम्पियन बनेको छ भने यस संस्करणको फेयर प्ले टिमको उपाधि एमइएस माविले प्राप्त गरेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।
विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्न सफल विद्यालय र खेलाडीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ तथा शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्। प्रमुख अतिथि, अति विशिष्ट अतिथि र विशिष्ट अतिथिहरूले विजेता, उपविजेता लगायतका विद्यालय र खेलाडीलाई पुरस्कृत गरे।
प्रतियोगिताको प्लेयर अफ द सिरिज मुनलाईटका दिलरञ्जन यादव, उत्कृष्ट बलर गोल्डेन फ्युचरका निरञ्जन यादव, उत्कृष्ट ब्याट्सम्यान मनकामना माविका अब्बुबक्कर समानी, उत्कृष्ट किपर मुनलाईटका अनुप कुँवर तथा उत्कृष्ट नव–उदीयमान खेलाडी साउथ जोनका प्रिन्स यादव घोषित भए। उत्कृष्ट खेलाडीहरूले ट्रफी, प्रमाणपत्र, क्याप र नगद तीन हजार रुपैयाँ प्राप्त गरे।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, वडा नं। १३ का वडा अध्यक्ष हिरा गिरी, मुख्य प्रायोजक नेपाल मेडिसिटीका कार्यकारी निर्देशक विजय रिमाल, प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा। हरिशंकर साह, केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सन मधेशका सल्लाहकार लालबाबु पटेल र श्याम केसी, मानवसेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवसेवा लगायत प्याब्सन पर्सा तथा वीरगञ्जका पदाधिकारी, सदस्य, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता, हिसानका जिल्ला अध्यक्ष मुकेश गुप्ता, सह–प्रायोजक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।