वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २७ घुर्मी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घरदैलो अभियान सञ्चालन गरेको छ। स्थानीयको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा रास्वपाले सामाजिक सुरक्षा, रोजगारी, शिक्षा तथा सुशासनलाई केन्द्रमा राख्दै आफ्ना चुनावी प्राथमिकता सार्वजनिक गरेको छ।
घरदैलोका क्रममा रास्वपाले ज्येष्ठ नागरिकलाई घरमै वृद्धभत्ता उपलब्ध गराउने व्यवस्था पुनः लागू गरिने प्रतिबद्धता जनाएको छ। लामो समयदेखि भत्ता लिन कार्यालय धाउनुपर्ने समस्याबाट पीडित ज्येष्ठ नागरिकका लागि घरमै सेवा पुर्याउनु आवश्यक रहेको स्थानीयले बताएका थिए।
कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले युवाका लागि रोजगारी सिर्जना, महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने कार्यक्रम, उच्च सीपमूलक तालिम तथा गुणस्तरीय शिक्षाको पहुँच विस्तार रास्वपाको प्रमुख एजेन्डा रहेको बताए। निर्वाचित भएमा यी विषयलाई प्राथमिकताका साथ अघि बढाइने उनले स्पष्ट पारे।
स्थानीयवासीसँगको अन्तरक्रियामा कानुले समयअनुसार प्राविधिक शिक्षाको विकास अपरिहार्य भएको उल्लेख गर्दै सीप र रोजगारीलाई जोड्ने नीतिमा जोड दिए। “सीपयुक्त जनशक्ति बिना रोजगारी सम्भव हुँदैन,” उनले भने, “स्थानीय स्तरमै प्राविधिक शिक्षा र तालिमको पहुँच विस्तार गरिनेछ।”
घरदैलो कार्यक्रममा सहभागी स्थानीयले परम्परागत नारा र अधुरा आश्वासनबाट थाकिसकेको प्रतिक्रिया दिँदै परिणाम देखिने विकास र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याएका थिए। आयोजकका अनुसार रास्वपाले सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीति स्थापनाको सन्देश टोल–टोलमा पुर्याएको छ।
कार्यक्रमसँगै घुर्मी क्षेत्रमा रास्वपाप्रति जनचासो र समर्थन बढ्दै गएको संकेत देखिएको छ।