वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार अजयकुमार चौरसियाले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ छपक्यामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्दै मतदातासँग भोट मागेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार चौरसियाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा आधारभूत सेवामा सुधारलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारे।
जनताको समस्या नजिकबाट बुझेर समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै चौरसियाले भने, “जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्नु नै मेरो मुख्य लक्ष्य हो। जनताकै साथ र सहयोगबाट मात्र विकास सम्भव छ।”
उक्त घरदैलो तथा कोणसभा कार्यक्रममा अशोक गुप्ता, श्याम पटेल, सभापति विजय सहनी, भोला गुप्ता, ओमी गुप्ता, मेगराज सहनी गुप्तालगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले नेपाली कांग्रेसको नेतृत्वमा मात्र देश र क्षेत्रको दिगो विकास सम्भव हुने दाबी गर्दै उम्मेदवार चौरसियालाई विजयी गराउन मतदातासमक्ष आग्रह गरेका थिए।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चौरसियाले तीव्र रूपमा घरदैलो अभियान अघि बढाइरहेका छन्। उनको सक्रियतासँगै क्षेत्रमा निर्वाचन माहोल थप सक्रिय बन्दै गएको देखिएको छ।