पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ र १३ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, सुझाव र अपेक्षाहरू सुने।
घरदैलोका अवसरमा यादवले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामाजिक पूर्वाधार तथा स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले विगतमा सांसद तथा मन्त्रीको रूपमा पर्सा जिल्लामा गरेका विकास कार्य स्मरण गराउँदै सडक सुधार, खानेपानी पहुँच विस्तार, विद्यालय र स्वास्थ्य संस्थाको स्तरोन्नति तथा सामाजिक कल्याण योजनाको सफल कार्यान्वयन भएको दाबी गरे। ती अनुभवले आगामी दिनमा अझ दिगो र समावेशी विकासको आधार तयार भएको उनको भनाइ थियो।
यादवले एमालेको चुनावी एजेन्डाबारे पनि स्पष्ट पार्दै विकास, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार, स्थानीय उद्योग–रोजगारी प्रवर्द्धन, आर्थिक समृद्धि र महिला तथा पछाडि परेका समुदायको संरक्षणमा जोड दिए। “हामी विकास र सुशासनको यात्रालाई निरन्तरता दिन्छौँ, सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह गर्छु,” उनले भने।
घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता, समर्थक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मतदातासँगको प्रत्यक्ष भेटघाटले पर्सा–१ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको स्थानीयले बताएका छन्।