वीरगञ्ज, पर्सा — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले पर्सा जिल्लाका अधिकांश मतदानस्थलको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरेको छ। जिल्लामा रहेका कुल १६७ मतदानस्थलमध्ये १६५ वटाको निरीक्षण सकिएको र बाँकी दुई मतदानस्थलको अनुगमन छिट्टै पूरा गरिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय तथा जिल्ला निर्वाचन कार्यालय पर्साको संयुक्त टोलीले मतदानस्थलको स्थलगत अनुगमन गरिरहेको छ। निरीक्षणका क्रममा शान्ति–सुरक्षा व्यवस्थापनका आवश्यक रणनीति तयार पारिएको प्रजिअ दाहालले जानकारी दिए। उनले भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गरे।
६२ मतदानस्थल अतिसंवेदनशील
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये ६२ वटालाई अतिसंवेदनशील, ८५ वटालाई संवेदनशील र २० वटालाई कम संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ। सुरक्षा अवस्थाको विश्लेषणका आधारमा उक्त वर्गीकरण गरिएको जनाइएको छ।
जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ मा ३४, क्षेत्र नम्बर–२ मा ३८, क्षेत्र नम्बर–३ मा ४७ र क्षेत्र नम्बर–४ मा ४८ मतदानस्थल रहेका छन्। त्यस्तै, जिल्लाभर ४४१ स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नम्बर–१ मा १०३, क्षेत्र नम्बर–२ मा ११० तथा क्षेत्र नम्बर–३ र ४ मा समान ११४–११४ मतदान केन्द्र निर्धारण गरिएको छ।
तीन लाख ७६ हजारभन्दा बढी मतदाता
पर्सा जिल्लामा कुल मतदाता संख्या तीन लाख ७६ हजार ५१३ रहेको छ। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन्।
जिल्ला सुरक्षा समितिले सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायहरू उच्च सतर्कताका साथ परिचालन हुने तयारीमा रहेका छन्।