अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत बिहीबार पश्चिमी इराकमा भएको विमान दुर्घटनामा ज्यान गुमाउने ६ जना अमेरिकी वायुसेनाका कर्मचारीहरूको पहिचान खुलाएको छ। अमेरिकी सैन्य स्रोतका अनुसार यो दुर्घटना कुनै शत्रुतापूर्ण आक्रमण वा आफ्नै सेनाको अन्जानवश गरिएको प्रहारका कारण भएको होइन। पेन्टागनले यसलाई प्राविधिक कारणले भएको हुन सक्ने संकेत गर्दै थप अनुसन्धान गरिरहेको छ।
सिएनएनले उल्लेख गरे अनुसार ज्यान गुमाउने सैनिकहरूमा मेजर जोन ए क्लिन्नर रहेका छन् । ३३ वर्षीय क्लिन्नर ८ वर्षदेखि वायुसेनामा कार्यरत थिए । उनका एक २ वर्षीय छोरा र ७ महिनाका जुम्ल्याहा सन्तान छन्। उनका परिवारका अनुसार उनी एक सच्चा सेर्भेन्ट लिडर थिए ।
त्यस्तै ज्यान गुमाउनेमा ३१ वर्षीया क्याप्टेन एरियाना जी साभिनो, ३४ वर्षीया टेक सार्जेन्ट एश्ले बी प्रुइट, ३८ वर्षीय क्याप्टेन सेथ आर कोभल, ३० वर्षीय क्याप्टेन कर्टिस जे, एङ्गस्ट, २८ वर्षीय टेक सार्जेन्ट टाइलर एच रहेका छन् । ज्यान गुमाउने सबै जना लामो समय देखी सैन्य काम गरिरहेका अनुभवि थिए ।
ज्यान गुमाउने कर्मचारीहरू केसी–१३५ रिफ्युलिङ इन्धन भर्ने विमानमा सवार थिए। यो विमानले आकाशमै अन्य लडाकु विमानहरूमा इन्धन भर्ने, सामान ढुवानी गर्ने र बिरामीहरूको उद्धार गर्ने काम गर्छ। यो दुर्घटना पेन्टागनले इरानसँगको युद्धलाई दिएको नाम …अपरेसन एपिक फ्युरीÚ अन्तर्गत सञ्चालन भइरहेको बेला भएको हो।
रिपोर्टका अनुसार उक्त समयमा दुईवटा विमानहरू सञ्चालनमा थिए, जसमध्ये दोस्रो विमान सुरक्षित रूपमा अवतरण भएको छ। इरानसँगको यो युद्धका क्रममा मारिने अमेरिकी सैनिकहरूको संख्या अब १३ पुगेको छ। यसअघि मार्च १ मा कुवेतको शुइबा बन्दरगाहमा भएको आक्रमणमा ६ जना र गत साता साउदी अरबमा भएको आक्रमणमा अर्का एक सैनिकको मृत्यु भएको थियो।
विभिन्न विश्वविद्यालय, स्थानीय मेयर र परिवारका सदस्यहरूले मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पेन्टागनले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ।